काठमाडौँ। रौतहटको माधवनारायण नगरपालिका-४ स्थित श्री माध्यमिक विद्यालयपरिसर भित्रै दुई समूहबीच झडप भएको छ । स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयमा विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावक पक्षबीच आइतबार दिउँसो विवाद हुँदा झडप भएको हो ।
झडपमा १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
घाइतेमध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ। बाँकी घाइतेहरूको अवस्था समान्य रहेको छ।
प्रहरीका अनुसार हाल श्री माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पद रिक्त छ । नयाँ समिति चयन गर्नुअघि विद्यार्थी भर्ना गर्न पुगेका अभिभावक र प्रधानाध्यपकबीच विवाद भएको थियो।
झगडा गर्ने दुबै पक्षका मुख्य एक-एक जनालाई नियन्त्रणमा लिएको र दुबै पक्षबीच अहिले इलाका प्रहरी कार्यालय गरुडामा छलफल चलिरहेको प्रहरीले जनाएको छ ।