• फाल्गुन २७ २०८२, बुधबार

देउवा सरकारमा नेपाल पक्ष सहभागी नहुनुको अन्तर्य

श्रावण १७ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । देउवाले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सहितको संयुक्त गठबन्धनबाट मन्त्री थप्ने गरि मन्त्रिपरिषद विस्तार गर्न लागेको उक्त परिषदको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्ता र छलफल पश्चात् सके आज (आइतबार) नभए भोलि (सोमबार)सम्म मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको स्रोत बताउँछ । यसअघि बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको उक्त छलफलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको बालुवाटार स्रोतले बताएको छ ।

तथापि एमाले नेता नेपाल पक्ष तत्काल देउवा सरकारमा सहभागी नहुने भएको छ । पार्टीको आन्तरिक विवाद भएको भन्दै नेपालले अहिले नै सरकारमा सहभागी हुन नसक्ने बताएका छन् । नेता नेपालनिकट युवा नेता निरज आचार्यका अनुसार, ‘आइतबार विस्तार हुने मन्त्रिपरिषद विस्तारमा सहभागी हुन सक्ने सम्भावना छैन । पार्टी भित्रको आन्तरिक विवाद र त्यसले निम्त्याएको असहज परिस्थितिका कारण सरकारमा सहभागी हुँदैनौँ । यद्यपि विघटित संसद्लाई पुनर्जीवन दिनका लागि देउवा नेतृत्वको गठबन्धनलाई साथ दिए पनि उप्रान्त पार्टीको विवाद समाधान नहुञ्जेल सरकारमा जाने कुरा सोचेका पनि छैनौँ ।’

‘हाम्रो पक्ष अहिले पार्टीको आन्तरिक विवाद समाधानतर्फ लागि परेको छ । यसका लागि मलगायत नेता भीम रावल घनश्याम भुषालजी र अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङ, विष्णु पौडेलजीहरू पनि एकता कसरी जोगाउनेृ भन्नेमा चिन्तित छौँ । यसर्थ अहिले नै सरकारमा सहभागीता जनाउने हाम्रो चिन्ता होइन । हामी पार्टी एकताकै पक्षमा उभिएका छौँ । एकता भए बेग्लै कुरा भैहाल्यो । अन्यथा सोच्न सकिन्छ भन्छन्,’ नेपालनिकट नेता तथा पूर्वएकता कार्यदलका सदस्य गोकर्ण विष्ट ।’

नेताहरूको अभिव्यक्तिलाई आधार मान्ने हो भने तत्काल देउवा सरकारमा नेपाल पक्ष सहभागी नहुने निश्चित छ । तर, उसलाई सरकारमा सहभागी गराउन सकिएको खण्डमा सरकारले पनि पूर्णता पाउनेमा आशा गर्छन्, देउवा–प्रचण्ड । यद्यपि विगत पाँच महिनायता एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विवादका कारण पार्टीभित्र विवाद चुलिँदै गएको छ । यो बीचमा नेता नेपाल पक्ष सरकारमा सहभागी नहुने झन्डै पक्का भैसकेको छ ।

तर, आज वा भोलिसम्म विस्तार हुने मन्त्रिपरिषद्मा काँग्रेस, माओवादी केन्द्र सहभागी हुने भएको छ । त्यसका लागि आजैबाट आन्तरिक गृहकार्य सुरु गरिएको बताइएको छ । आज (आइतबार) माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने क्रममा अध्यक्ष प्रचण्डले अब नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । उसको सहभागिता बिना नै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

यसअघि सरकारमा सहभागी हुने या नहुने भन्दै प्रचण्ड र नेपालबीच छलफल भएको थियो । छलफलका क्रममा नेपालले आफ्नो पक्ष सरकारमा तत्काल सहभागी नहुने बताएका हुन् । उनी सरकारमा सहभागी नहुने बताएसँगै नेपाल पक्ष बिनाको देउवा सरकार विस्तार हुने भएको छ । यसका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाले मन्त्रिपरिषद्मा पठाउन आफ्ना नेताहरूलाई सिफारिस गर्नका लागि छलफलमा जुटेका छन् ।