• बैशाख २६ २०८३, शनिबार

जसपाभित्रै रहेर नयाँ पार्टी खोल्ने ठाकुर पक्षको नयाँ दाउ

श्रावण १७ २०७८, आईतवार

काठमाण्डौ । आफू पक्षीय सांसदको पद जोगाउन महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल नयाँ पार्टी घोषणाका लागि नहतारिने भएको छ । तर भित्रभित्रै नयाँ पार्टीकै अभ्यास भने अघि बढाउने सो पक्षको तयारी छ । ठाकुर र महतोले यसै साता आफूनिकट कानुन व्यवसायीसँग सरसल्लाह गरेका थिए ।

स्रोतका अनुसार नयाँ पार्टी घोषणा गरे कानुनी रुपमा जसपामा सदस्यता नै नरहने र सांसद पद पनि स्वतः गुम्ने स्थिति रहेको भनी कानुन व्यवासायीहरूले जानकारी दिएको बुझिएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७४ अनुसार नयाँ पार्टी घोषणा गर्नेबित्तिकै उपेन्द्र यादवले कारबाही नगरे पनि पद जाने भएकाले त्यसो गर्न उचित नहुने भनेर कानुन व्यावसायीहरूले ठाकुर–महतोलाई सुझाएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार कानुन व्यावसायीहरूको तर्क थियो, नयाँ पार्टी घोषणा नगरेसम्म ठाकुर–महतो पक्षीय नेताहरु कानुनतः जसपामै रहन्छन् । त्यस्तो अवस्थामा उपेन्द्र यादवले कारबाही गरेको जानकारी नगराएसम्म उनीहरूको सार्वजनिक पद पनि यथावतै रहने जिकिर उनीहरूले गरेका छन् ।

जसपा अध्यक्ष यादवले अहिलेसम्म ठाकुर पक्षका चार नेताबाहेक कसैलाई कारबाही प्रक्रिया अघि बढाएका छैनन् । ती चार नेता ठाकुर, महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पनि आयोगले जसपा आधिकारिकता विवाद निरुपण गर्नुअघि नै कारबाही गरिएको हो ।

आयोगको फैसलापछि यादव पक्षले यसबारे केही बोलेको छैन । नयाँ पार्टी घोषणा नगरेसम्म यादवले कारबाही गरे पनि सर्वोच्चले सांसद पद थमौती गर्न सक्ने तर्क पनि कानुन व्यावसायीहरुको रहेको जनाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।