काठमाडौँ । दार्चुला जिल्लामा साउन १५ गते दिउँसो व्यास गाउँपालिका वडा नम्बर २ का जयसिंह धामीले महाकाली नदीको मालाघाटमा तुइन तर्दा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीको भारतपट्टिको तुइन काटीदिँदा नदीमा बगेर धामी बेपत्ता भएको घटनाको विरोध स्वरूप विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा प्रदर्शन गरेको छ ।

जुलुस सहित प्रदर्शन गरेको नेकपाले सो घटनाको तिब्र रुपमा विरोध गरेको छ । सो घटनालाई अमानवीय, आतातायी र बर्बरतापूर्ण घटना बताउँदै पार्टीले कडा निन्दा र भत्सर्ना समेत गरेको छ ।
राजधानीमा आयोजित प्रदर्शनमा सो पार्टीका केन्द्रिय सदस्य नविन विश्वकर्मा, काठमाडौँ जिल्लाका सचिव राजेन्द्र महर्जन लगायतले सम्बोधन गरेका थिए । विरोध प्रदर्शन पछि भएको सभालाई अखिल क्रान्तिकारीका केन्द्रिय महासचिव प्रकाश शाहीले संचालन गरेका थिए ।