• मंसिर ११ २०८१, मंगलवार

‘प्राणान्त’पछि ‘आममाफी’को के काम !

श्रावण १५ २०७८, शुक्रबार

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई ‘आममाफी’ को घोषणा गरे पनि त्यसको कुनै आधारभूत अर्थ रहेन अब । वामपन्थीको सरकार ढलिसक्यो र अब प्रजातन्त्रवादीहरुको नेतृत्वमा सरकार गठन भैसक्यो । प्रजातन्त्रिक धारका अगुवाइमा शेरबहादुर देउवाको सरकार अहिले राज्यको कार्यकारी छ ।

आममाफीको अर्थ त्यतिबेला हुने थियो, जब वाम सरकारको प्राणान्त हुन बाँकी थियो । ‘… सकेपछि दैलो देख्नु’ वुद्धिमत्तापूर्ण कार्य भने होइन, भावनात्मक फकाइफुल्याइ र अल्झाइउल्झाइका कुरा भने हुन सक्लान् । मानिसले नीति, विचार र सिद्धान्त केन्द्रमा नराख्दा यो परिणति हुन्छ ।

हिजो राणाहरुले त्यही गरे । हिजो राजाहरुले त्यही गरे । हिजो कांग्रेसहरुले त्यही गरे । हिजो पञ्चहरुले त्यही गरे । एमाले अध्यक्ष ओलीले पनि त्यही गरे, जसले राजनीतिक वृत्तमा प्रहसनको आभाष दिलायो । नाटक पुनरावृत्ति भयो ।

मानिसले वामपन्थीको सरकारले केही बढि सुधारका कार्यक्रम ल्याओस् भनी अपेक्षा गरेका थिए, ओली सरकारले ‘क्रान्ति गरोस्’ भनेका त थिएनन् । त्यही सुधारका कार्यक्रम ल्याउनका लागि आफूले टेकेको धरातल बलियो बनाइ राख्नु पर्ने थियो, अध्यक्ष ओलीले ।

सबैलाई ज्ञात भएकै कुरा हो, नेपालमा प्रजातन्त्रवादी भनौ वा वामपन्थी पार्टी, सबै सत्तामा आसिन भएकै बेला फुटेका छन् । यसको हलका लागि ‘म कहाँ छु, मलाई कसले हल्लाउने’ भन्दा पनि यसो पो हुनसक्छ कि त भनेर टाढासम्मको परिणाम र परिणति हेक्का राख्न सक्नु पर्ने थियो । प्रतिष्ठाको राजनीति होइन, सिद्धान्तको राजनीतिबाट डगमगाउनु हुँदैनथ्यो ।

फेरि पनि भयो त्यही ! वैयक्तिक प्रतिष्ठाका कारण सिद्धान्त र राजनीति ओझेलमा पर्यो । सहज बहुतको आधारमा प्राप्त जनादेश हातबाट गुम्यो । सत्ताको बागडोर गयो । यही बागडोर बचाउनका लागि पो आममाफी जरुरी थियो त । अब केको आममाफी ? केका लागि आम माफी ? कुन हैसियतले आममाफी ! आममाफीको वाच्य र वचन सत्ताको बागडोरसँग अभिन्न हुन्छ, सत्ता गुमाएको स्यालडोरसँग यसको कुनै साइनोसम्बन्धै हुँदैन ।

ओली सरकारको अन्त्यसँगै नेपाली राजनीतिले ध्रुव फेरिरहेका छ । कोल्टे फेरिरहेको छ । पार्टी अध्यक्षका हैसियतले ओलीले यो कुराको बोध आफ्नै साथीभाइ सत्ता प्रयोग गरेर तान्दा पनि किन आउँदैनन् र केले यति जबर्जस्त समाएको छ भनेर बेलैमा बोध गर्नु जरुरी थियो । यो बोधको स्थान क्रोधले लियो । वैयक्तिक प्रतिष्ठाको लडाइँ र बदलाभावले लिन गयो ।

आज ओली मात्र सत्ताबाहिर छैनन् । उनले वामपन्थी धारलाई सत्ताइतर बनाएर सडकमा आएका छन् । उनी भ्रमको महास्वर्गबाट यर्थाथताको धरातलमा उत्रिएका छन् । फेरि पनि उनले सधैंजसो पेट मिचिमिचि हँसाउने गरेका मानिसहरु हाँस्न भने छाडेका छैनन् । मात्र आममाफीको कुराले उनीहरुलाई हँसाइरहेको छ ।