काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बालबालिकालाई सुरक्षित बनाउन आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको विहीबार बसेको बैठकले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न र बालबालिकामैत्री क्वारेन्टिन निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो ।
कोरोनाको तेस्रो लहरको जोखिम रहेकाले त्यसबाट आमनागरिक र विशेष गरी बालबालिकालाई सुरक्षित बनाउन आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो।
समितिले विभिन्न देशमा बालबालिकालाई कोरोनाको खोप लगाई सुरक्षित बनाइरहेको भन्दै त्यो उमेर समूहमा प्रयोग गर्न मिल्ने खोपको प्रबन्ध गर्न सरकारलाई निर्देश गरेको हो।
समितिले अहिले देशभरमा बाल रोग विशेषज्ञको सङ्ख्या कम रहेकाले अरु उपलब्ध स्वास्थ्यकर्मीको समुचित परिचालन गर्न पनि निर्देश गरेको छ।