• फाल्गुन २७ २०८२, बुधबार

संसद् अधिवेशन थप प्रभावकारी बनाउन सभामुख र गृहमन्त्रीबीच छलफल

श्रावण १४ २०७८, बिहीबार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच संघीय संसद्को अधिवेशन थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच संसद्को चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायतका सन्दर्भमा छलफल भएको हो ।

सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढीपहिराका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ ।

सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितको पुनःस्थापनाको कार्य अघि बढाउने जानकारी दिए ।

उनले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितका नाममा सर्वसाधारणबाट सङ्कलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए ।