जाजरकोट । रुकुम पश्चिममा एकजना महिलाको रहस्यमय हत्या भएको छ ।
त्रिबेणी गाउपालिका– ४ छहरे मा अन्दाजी २६ वर्ष कि मनकला खत्री खड्काको गएराति घरमै हत्या भएको छ ।
भैसीलाई घास हाल्न घर बाहिर निस्केको बेला धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रहरीले जनाएको छ । मृतकको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका छन् ।
घरभन्दा करिब २ सय मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हाल्न सोमवार बेलुका सात बजेतिर गएकी उनी लामो समय नफर्केपछि उनको खोजी गरिएको थियो । खोज्ने क्रममा राति १० बजेतिर उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।
प्रहरी राती १२ बजे घटनास्थल पुगेको थियो ।उनको शव गोठ भन्दा केही तल कान च्यातिएको, नाकमा धारिलो हतियार प्रयोग भएको र मृतक रक्ताम्य अवस्थामा फेला परेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।
हत्याराले उनीले लगाएका गरगहना पनि लुटेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटनास्थल शिल गरि अनुसन्धान गरिरहेको बताएको छ । हत्यामा कसको संलग्नता हो अहिलेसम्म केही खुलेको छैन ।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रेष्ठ पनि पुगेका छन् । घटनाको अनुसन्धान थालिएको प्रहरी प्रमुख श्रेष्ठले बताए ।
शव रातभर प्रहरीको निगरानीमा रहेको र अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाइएको डिएसपी श्रेष्ठले बताए । कुकुर पुगेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ ।
प्रारम्भिक चरणमा घटनास्थल वरपर सोधपुछको काम भइरहेको डिएसपी श्रेष्ठले बताए । मृतकका सात बर्षिय एक छोरा र सासुआमा घरमा रहेका छन् ।