कांग्रेस सांसद गगन थापाले विधि र विज्ञान नमान्ने अघिल्लो सरकार बालुवाटारबाट बार्दली पुगेको बताएका छन् । आज प्रतिनिधि सभा संसद बैठकमा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पाएसँगै नयाँ अध्याय सुरु भएको पनि बताए ।
निवर्तमान प्रधानमन्त्री केपी ओली बालुवाटार छाडेर निजी निवास बालकोट पुगेको दिन बार्दलीबाट भाषण गरेका थिए । थापाले त्यसैतर्फ संकेत गरेका छन् । उनले सरकार र संसदसँग नयाँ अपेक्षा रहेको बताए ।
‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने । न विधि मान्ने न विज्ञानलाई पत्याउने । स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने । जनताको दुहाइ दिने तर आसेपासे पोस्ने । बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार,’ थापाले भने ।
नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए । यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने उनले बताए । ‘यो संसद सरकारसँग डराउने होइन । सरकार यो संसदसँग डराउनु पर्नेछ,’ उनले भने, ‘परीक्षा प्रधानमन्त्रीको मात्र होइन सभामुखको र सांसदको पनि छ ।’