काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षका नेता कार्यकर्ता पार्टी सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।
आयोगले जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरु आयोग पुगेका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिले पार्टी सनाखत हुने काम भइरहेको जानकारी दिए ।
उनका अनुसार बिहान ११ बजेदेखि पार्टी सनाखत हुने काम भइरहेको हो ।
जसपा अध्यक्ष यादव पक्षका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले यादव पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएको दाबी गरेका छन् ।अध्यक्ष यादवसहित उनका पक्षका अधिकांश नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।
त्यस्तै अर्का अध्यक्ष ठाकुर पक्षका दुई नेता यादव पक्षको लाइनमा उभिएका छन् ।
ठाकुर पक्षका नेता राजकिशोर यादव र प्रदेश २ का सांसद मनिष सुमन अन्तिम समयमा यादव पक्षमा लागेका छन् । जसले गर्दा ठाकुर पक्ष झन् कमजोर बनेको छ ।
जसपा पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाई गरिरहेको निर्वाचन आयोगले सोमबार बिहान ११ बजे केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाएको थियाे ।यसविरुद्ध अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा सर्वोच्च अदालतमा रिट दिएका थिए । तर, सर्वोच्चले आइतबार ठाकुरको मागबमोजिम अन्तरिक आदेश दिएन् ।
सर्वोच्चका न्यायधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको थियो । आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ ।