• मंसिर १० २०८१, सोमबार

यादवको पक्षमा कार्यकारीणी सदस्य थपिँदै

श्रावण १० २०७८, आईतवार

काठमाडौं । जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च अदालतमा महन्थ ठाकुर पक्षले दर्ता गराएको रिट निवेदनमा आइतबार कुनै आदेश भएन ।

तर सोमबार बिहानसम्म उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका सदस्यहरु थपिने भएका छन् । जसपामा उत्पन्न विवादका कारण कार्यकारिणी समितिका सदस्यहरू अध्यक्षद्वय यादव र ठाकुर पक्षमा विभिाजित भएका छन् ।

अहिलेसम्म कार्यकारिणी समितिका ३२ जना यादवको पक्षमा र १९ जना ठाकुरको पक्षमा खुलेका छन् । ठाकुर पक्षका राजकिशोर यादवले आफू कुनै पक्षमा नलागेको प्रष्ट पारेका छन् । ठाकुर पक्षका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा छन् ।

हेड काउन्टमा उनी जाने अवस्था छैन । निर्वाचन आयोगले विवाद निरुपण गर्न सोमबार कार्यकारिणी समितिका सबै सदस्यलाई कार्यालयमा बोलाएको छ ।

यादव पक्षका एक नेताले दिएको जानकारी अनुसार सोमबार बिहानसम्म ठाकुर पक्षका केही कार्यकारिणी सदस्यहरूले यादवको पक्षमा जाने बताएका छन् । ठाकुर पक्षका नेता मनिष सुमन यादव पक्षमा जाने करिब निश्चित भएको ती नेताले दाबी गरे। यस विषयमा सम्पर्क गर्न खोज्दा सुमन सम्पर्कमा आउन चाहेनन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।