• फाल्गुन २७ २०८२, बुधबार

प्रचण्ड र माधव नेपालबीच आज पनि भेटवार्ता

श्रावण ९ २०७८, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच आज पनि भेटवार्ता भएको छ ।

नेपाललाई भेट्न प्रचण्ड उहाँको निवास कोटेश्वर पुगेका थियो । प्रचण्ड र नेपालबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । एमालेका दोस्रो तहका नेताबीच एकताको प्रयास भइरहँदा सरकारमा सहभागिताबारे प्रचण्डले नेपालसँग छलफल गरेका हुन् ।

प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आज नै छलफल गरेका थिए । सरकार बनेको १० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

गठबन्धनसँग आबद्ध एमालेको नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्षले समय मागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको बताइएको छ । यसैबीच, प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भइरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा आज पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले  संसद् विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भइरहेको बताए  ।

संसद् विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद् पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको प्रचण्डको टिप्पणी छ ।