• फाल्गुन २७ २०८२, बुधबार

आयोगले ‘हेड काउन्ट’ गर्ने भएपछि जसपाका नेता तानातान

श्रावण ९ २०७८, शनिबार

काठमाडौं । निर्वाचन आयोगले जसपाको राष्ट्रिय कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गर्ने भएपछि अहिले दुवै पक्षमा सदस्यहरुको तानातान चल्न थालेको छ ।

जसपाको महन्थ ठाकुर पक्षसँग कार्यकारिणी समितिका २० जना सदस्यमात्र छन् । ठाकुर पक्षलाई बहुमत जुटाउन र उपेन्द्र यादवलाई आफ्नो पक्षमा रहेका सदस्य जोगाउन जरुरी रहेकै समयमा केही सदस्यहरु तानातानमा परेका हुन् । त्यसो त, ठाकुर पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत नरहेको र निर्वाचन आयोगले बहुमत रहेको पक्षलाई नै आधिकारिकता दिन सक्ने आँकलन गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ ।

आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन सूचित गरेको विरुद्ध अध्यक्ष ठाकुरकै तर्फबाट शुक्रबार रिट निवेदन पेस गरिएको हो । तर, आयोगले बोलाएको समयसम्म बहुमत जुटाउनका लागि पहल गर्ने रणनीतिलाई पनि ठाकुर पक्षले महत्व दिएको छ ।

जसपाका दुवै पक्षका नेताहरु आफ्ना विभिन्न च्यानल प्रयोग गरेर कार्यकारिणी समितिका सदस्यहरुसँग सम्पर्क गरिरहेका छन् । उपत्यका बाहिर रहेका कार्यकारिणी समितिका सदस्यहरुलाई काठमाडौं आउन भनिएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक शनिबार ११ बजेका लागि राखेका छन् । त्यसमा सबैलाई अनिवार्य उपस्थित हुन भनिएको छ । अध्यक्ष ठाकुरका सहयोगी सत्येन्द्र मिश्रले जिल्लातिर रहेका कार्यकारिणी सदस्यहरुलाई सम्पर्क गरी काठमाडौं आउन आग्रह गरेका छन् ।

ठाकुर पक्षका नेता मुकेश मिश्रले आफूहरुसँग कार्यकारिणी समितिमा बहुमत रहेको दाबी गरे । ‘कोसँग बहुमत छ र कोसँग छैन भन्ने कुरा साउन ११ गते निर्वाचन आयोगमा तय हुन्छ ।’ तर पछिल्लो समय ठाकुर पक्षको साथ छोड्ने क्रम बढ्न थालेको छ । महन्थ ठाकुरकै पक्षमा रहेकी कार्यकारिणी सदस्य अमृता अग्रहरी हाल उपेन्द्र यादवको पक्षमा गइसकेकी छन् ।

राजकिशोर यादव, गोविन्द चौधरी, मनिष सुमन लगायतले पनि उपेन्द्र यादव पक्षतिर झुकाव राख्न थालेको बताइन्छ तर उनीहरु हालसम्म कसैको पक्षमा खुलेका छैनन् । स्रोतका अनुसार उनीहरु जहाँ जसपा हुन्छ, त्यहीँ आफूहरु रहने भन्दै निर्वाचन आयोगको फैसलाको प्रतीक्षामा छन् । आयोगले जुन पक्षलाई मान्यता दिन्छ, त्यही पक्षमा लाग्ने सोच बनाएर उनीहरु बसेको स्रोतको भनाइ छ ।

यता, महन्थ ठाकुर पक्षले राजकिशोर यादवलाई तान्न प्रयास गरिरहेको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पटक पटक आफै गएर उनीसँग भेट गरेका छन् भने महन्थ ठाकुरले पनि आफ्ना मान्छे पठाएर कुरा गरेका छन् । यहाँसम्म कि, महन्थ ठाकुरले राजकिशोर यादवलाई मन्त्री बनाइदिने प्रस्तावसमेत गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार ठाकुर निकट युवा नेता ज्ञानेन्द्र झाले राजकिशोर यादवलाई फोन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाको क्याबिनेटमा मन्त्री बनाउन अध्यक्ष ठाकुरका तर्फबाट प्रस्ताव गरेको जानकारी गराएका थिए । अध्यक्ष ठाकुरले यसबारे देउवासँग समेत कुराकानी गरिसकेको भन्दै राजकिशोर यादवलाई आफूतिर तान्न पहल गरेको बताइन्छ । ठाकुर पक्षको प्रस्तावबारे राजकिशोर यादवले भने कुनै प्रतिकृया दिन मानेनन् ।

यता, उपेन्द्र यादव पक्षलाई पनि आफूतिर रहेका कार्यकारिणी समितिका सदस्यलाई जोगाउन धौधौ भइरहेको छ । महन्थ ठाकुर पक्षले केही सदस्यलाई तान्न सक्ने भन्दै उपेन्द्र यादवले सबैप्रति निगरानी बढाएका छन् । उनले पनि आफ्ना पक्षका कार्यकारिणी सदस्यलाई शनिबारसम्म काठमाडौं आउन खबर पठाएका छन् ।

महन्थ ठाकुर पक्षका नेताहरुले उपेन्द्र यादव पक्षका नेताहरुसँग विभिन्न च्यानलबाट सम्पर्क गरिरहेका छन् । यद्यपि महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य अनिलकुमार झाले आफूहरु नागरिकता लिएर निर्वाचन आयोग नजाने बताएका थिए ।