• मंसिर १० २०८१, सोमबार

सिंहलाई कारबाही गर्न सर्लाहीका १२ नेताले सभापति देउवालाई पठाए पत्र

श्रावण ८ २०७८, शुक्रबार

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीको माग गर्दै उनकै गृह जिल्ला सर्लाहीका १२ जना नेताले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् ।

सिंहले सर्लाहीमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बुधबार साँझ बालुवाटार पुगेर देउवालाई सांसद पदबाट राजीनामा बुझाएका थिए ।

संसदीय दलका नेता देउवालाई उनले राजीनामा पत्र दिएका हुन् । सांसदले राजीनामा सभामुखलाई बुझाउने व्यवस्था छ । सिंहले माग पूरा नभए सभामुखलाई राजीनामा दिने चेतावनी दिइरहेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहले पार्टीविरूद्ध काम गरेको आरोप लगाउँदै प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहा लगायत सर्लाहीका १२ नेताले देउवालाई बिहीबार पत्र पठाएका छन् ।

सिंहले नै रामगोविन्द रायलाई पार्टी कार्यालयमा आमरण अनसनमा राखेको आरोप छ । सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको विरोधमा राय आमरण अनसनमा छन् ।