• मंसिर १० २०८१, सोमबार

जसपा विवाद साउन ११ गते टुङ्गिने

श्रावण ८ २०७८, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते सनाखतका लागि बोलाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित पाँच जना आयुक्तको संयुक्त इजलासले कार्यकारिणी समितिका सदस्यलाई साउन ११ गते बोलाएको आयोगले जनाएको छ र सोही दिन आयोगले फैसला पनि सुनाउनेछ । सक्कल नागरिकता र मतदाता परिचयपत्रको आधारमा अधिकांश कार्यसमिति सदस्य कसको पक्षमा रहेको निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

सो पार्टीका आधिकारिता सम्बन्धी विवादबारे टुंगो लगाउन हिजो दिनभर बहस भएको थियो । पार्टीको आधिकारिकता दाबी गर्दै उपेन्द्र यादवले आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दाबी पेस गरेका थिए । त्यसपछि आयोगले विवाद निरुपणका लागि इजलास गठन गरी सुनुवाइ थालेको हो ।

जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिका रूपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । सो समितिमा उपेन्द्र यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दाबी गरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।