काठमाडौं । ‘संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्ति पत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ । चेतना भया ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेश अनुसार प्रधानमन्त्री नियुक्त गरेको जनाएपछि डा.देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा लेखेको अंश हो यो ।
नियुक्तिपत्र संविधानको धारा उल्लेख नगरी अदालतको आदेशबाट भन्ने मात्र उल्लेख गरेपछि देउवाले नसच्याएसम्म शपथ नलिने अडान लिए । शपथ लिन तोकिएको पूर्वनिर्धारित समयभन्दा झन्डै साढे दुई घण्टापछि मात्र राष्ट्रपति भण्डारी नियुक्ति पत्र सच्याउन तयार भइन् ।
शपथमा सर्वोच्च अदालतको आदेश र संविधानको ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भन्ने व्यहोरा राखिएको राष्ट्रपति कार्यालयका सचिवले उच्चारण गरे ।
नियुक्ति पत्रलाई लिएर राष्ट्रपति भण्डारी र नयाँ प्रधानमन्त्री देउवाबीचको तिक्तता त्यतिमा मात्र सीमित रहेन । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले नवनियुक्त प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराइन् । तर, मुलुकको राष्ट्राध्यक्ष र सरकार प्रमुखबीच बोलचाल भएन, आँखा पनि जुधेनन् ।
नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपतिले बधाई दिने औपचारिकतासम्म पूरा गरिनन् । राष्ट्रपतिले विगतको परम्परालाई निरन्तरता दिँदै उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग नयाँ प्रधानमन्त्रीलाई चिनाउने कुरा त झनै टाढाको विषय बन्यो ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।