नारायणगढ । चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको मृत्यु भएको घटनामा संलग्न भएका नेपाली सेनाका चिरणबहादुर बुढालाई ९ महिना कैद हुने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका बुढालाई दोषी ठहर गर्दै जिल्ला अदालत चितवनले नौ महिना कैद हुने फैसला सुनाएको हो । न्यायाधीश गायत्री रेग्मीको इजलासले आंशिक अभियोग दावी पुग्ने भन्दै आरोपित बुढालाई नौ महिना कैद, ९ हजार जरिवाना र २ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
मृतक चेपाङ सहित सातजना स्थानीय निकुञ्ज क्षेत्रमा गत साउन १ गते निगुरो र घुँगी खोज्न गएको अवस्थामा निकुञ्जका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कुटपिट गरेका थिए ।
सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिला बाहेक पाँचजना पुरुषहरूलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरूलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको पीडितले बताएका थिए ।
मृतकको परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले ७ लाख, राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ राहत उपलब्ध गराएका थिए ।
अति विपन्न सिमान्कृत समुदायका परिवारको लागि राप्ती नगरकै उपप्रमुख इमानसिंह लामाले निजी खर्चबाट घरसमेत बनाइदिएका छन् । सेतोपाटीले समाचार लेखेको छ ।