काठमाडौं । चीनसँग खरिद गरिएको खोप शुक्रबार नेपाल आइपुगेको छ । पहिलो चरणमा कोभिड विरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार चीन गएको वायुसेवा निगमको जहाजले शुक्रबार बिहान खोप नेपाल ल्याइपुर्याएको हो । चीनसँग नेपालले ४० लाख डोज खोप ल्याउन सम्झौता गरेको छ । जहाजमा खोप भण्डारण क्षमता ८ लाख डोजमात्रै भएकाले त्यति नै ल्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
‘खोप भण्डारणका लागि आपूर्ति महाशाखामा क्षमता छ । जहाजमै नअटेर आठ लाख डोजमात्र ल्याएका हौं’, उनले भने । थप खोप लिन जहाज शुक्रबारै चीनतर्फ उडिसकेको छ । आइपुगेको खोपमध्ये केही शुक्रबार नै गण्डकी प्रदेश र हेटौंडामा पठाइएको स्वास्थ्य सेवा आपूर्ति महाशाखाले जनाएको छ ।
अन्य प्रदेशमा पनि खोप पठाउने तयारी भइरहेको जनाइएको छ । खोप कुन मितिमा लगाउने भन्ने निर्णय हुन बाँकी रहेको र राष्ट्रिय खोप योजना अनुसार कार्यान्वयन गर्ने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए ।
उनका अनुसार यसअघि खोप लगाउन बाँकी ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिले खोप दिइनेछ । त्यसपछि अन्य उमेर समूहलाई प्राथमिकता अनुसार दिइने गौतमले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने सम्भावना रहेको भन्दै खोप अभियान जारी रहने बताए । ‘हामीले खोजीखोजी खोप लगाउँछौं, खोप आउँछ’, उनले भने । कुन देशबाट कति खोप आउने, यो भने श्रेष्ठले खुलाउन चाहेनन् ।
स्रोतका अनुसार अमेरिका र जापानले कोभ्याक्स अन्तर्गतको खोप दिने भएका छन् । यसअन्तर्गत अमेरिकाबाट १५ लाख ३५ हजार र जापानबाट ३ लाखभन्दा बढी खोप आउने मन्त्रालय स्रोतले जनाएको छ । नेपालमा हालसम्म १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्डको पहिलो मात्रा खोप लिएका छन् भने ४ लाख ६० हजार ७ सय ३९ जनाले दोस्रो मात्रा पनि लिएका छिन् ।
त्यसैगरी भेरोसेलको खोप ७ लाख ८३ हजार ३ सय २३ जनाले पहिलो मात्रा लगाएका छन् भने २ लाख ९९ हजार २ सय २० जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।