• मंसिर १० २०८१, सोमबार

खोप नलगाउनेहरु भाइरसका फ्याक्ट्री हुन् : विज्ञ

असार २५ २०७८, शुक्रबार

काठमाडौं । कोरोना जस्ता संक्रमक रोगका विशेषज्ञहरुले खोप नलगाउने मानिसहरुले आफ्नो स्वास्थ्यलाई मात्र जोखिममा नपारेर विश्वभरका मानिसका लागि घातक हुन सक्ने बताएका छन् ।

त्यस्ता मानिसहरु कोरोनाबाट संक्रमित भएमा उनीहरु ठूलो खतरा बन्ने विज्ञहरु बताउँछन् किनकी नयाँ कोरोना भेरियेन्ट उत्पन्न हुने एक मात्र श्रोत भनेको संक्रमित व्यक्तिको शरीर हो । यसकारण पनि खोप नलगाउनेहरु सम्भावित भेरियेन्टको ‘फ्याक्ट्री’ भएको डाक्टर विलियम स्काफनर बताउँछन् । उनी भेन्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरमा संक्रमक रोग विभागका प्रोफेसर हुन् ।

उनले थप भनेका छन्, “जति बढी खोप नलगाउने मान्छे, त्यति नै गुणा बढी स्तरमा भाइरसले आफूलाई फैलाउने अवसर पाउँछ । र त्यसरी ठूलो स्तरमा फैलदै जाँदा यसले म्युटेट हुने अर्थात् जिन परिवर्तन गर्ने मौका पनि पाउँछ र नयाँ भेरियेन्ट उत्पन्न हुनेछ । यो भनेको पछिका लागि अत्यन्तै गम्भीर समस्या हो ।”

सबै भाइरसले वातावरणसँग अनुकूल रहन आफ्नो संरचनामा परिवर्तन ल्याइरहने गर्छन् र त्यसैगरी कोरोना भाइरस पनि उत्पति भएको समयको तुलनामा आज धेरै परिवर्तित भइसकेको छ । यसमा प्रायः बदलावहरु भाइरसका लागि केही होइनन् र कतिले त यसलाई कमजोर पनि पार्न सक्छन् ।

तर कहिलेकाहिँ त्यही सामान्य प्रक्रियाले भाइरसलाई ठूलो फाइदा पनि दिलाउँदछ जसले यसलाई संक्रमण गर्न सजिलो बनाइदिने, यसको फैलावट तिव्र बनाइदिने र शरीरको इम्युनिटी छल्न सक्ने जस्ता शक्ति दिलाउन सक्छ । त्यस किसिमको लाभदायक क्षमता भएका भाइरसले बिस्तारै अन्यलाई प्रतिस्थापन गरि सबैतिर आफूलाई व्याप्त बनाउँदछ । र अन्ततः यसबाट संक्रमित हुने व्यक्तिबाट अर्कामा सर्दा भाइरसको नयाँ रुप पनि सँगै फैलिरहेको हुन्छ ।

यो रुपान्तरित भाइरस पर्याप्त फैलनमा सफल भएपछि यसैलाई नयाँ ‘भेरियेन्ट’ को नाम दिइन्छ । तर यो सबै प्रक्रियामा भाइरसले आफूलाई ‘रेप्लिकेट’ गर्ने अर्थात आफ्नो उत्पति बढाउनु पर्ने हुन्छ । र खोप नलगाएका व्यक्तिले मात्र भाइरसलाई त्यस्तो अवसर दिलाउँछन् ।

किनकी फैलन नसक्ने भाइरसले आफूलाई म्युटेट गर्न या आफूमा परिवर्तन ल्याउन सक्दैन । अहिले भेरियेन्टहरुको उपस्थिति विश्वभर नै बढिरहेको छ यसमा बी१.१.७ (अल्फा भेरियेन्ट) पहिलोपटक बेलायतमा देखा परेको थियो । यसपछि अर्को बी१.३५१ (बेटा) भेरियेन्ट दक्षिण अफ्रिाकामा भेटियो । त्यस्तै डेल्टा भेरियेन्ट नामाकरण गरिएको बी१.६१७ भेरियेन्ट भारतमा पहिलोपटक देखा पर्यो ।

वसन्तको अन्त्यतिर अमेरिकामा अल्फा भेरियेन्ट हावी भइरहेको थियो तर अहिले भने डेल्टा भेरियेन्ट हालसम्मकै संक्रामक भेरियेन्ट बन्न पुगेको छ । र धेरै देशहरुमा यही भेरियेन्ट व्याप्त बन्दै जाने प्रक्रियामा रहेको देखिएको छ ।

अहिले प्रयोगमा ल्याइएका खोपहरु यी भेरियेन्ट विरुद्ध सुरक्षा दिलाउन सक्ने बताइएको छ तर भाइरसले म्युटेट हुने अवसर पाइरह्यो भने यस वास्तविकतामा कुनैपनि बेला परिवर्तन आउन सक्छ । त्यसकारण पनि डाक्टर र स्वास्थ्यविदहरुले धेरै भन्दा धेरै मानिसले छिटै खोप लगाउन भन्ने चाहेका हुन् ।

विश्व स्वास्थ्य संगठनले गत महिना भनेको थियो, “भाइरसलाई हामीले जति फैलन दियौँ त्यति नै यसले आफूलाई बदल्ने मौका पाउनेछ । ” त्यसैले पनि खोप नलगाएका मानिसहरुले भाइरसलाई फैलन मात्र नभएर त्यसलाई म्युटेट हुनमा पनि मद्दत गरिरहेको हुने डाक्टर फिलिप लेन्ड्रिगनले बताए ।

बोस्टन कलेजका इम्युनोलाजिस्ट डाक्टर फिलिपले भनेका छन्, “यसमा भाइरसलाई नयाँ भेरियेन्ट बन्न प्रति व्यक्ति केबल एउटा म्युटेसन मात्र पर्याप्त हुनेछ । ” सीएनएन