काबुल । आगामी सेप्टेम्बरसम्म अफगानिस्तान छाड्ने बताएको अमेरिकाले सैनिक फिर्ता लैजान थालेको छ । विष्लेषकहरुले अमेरिका अफ्गानिस्तानबाट भागेको बताइरहेका छन् ।
अमेरिकी सैनिक फिर्ता प्रक्रिया सुरु भएसँगै चरमपन्थी संगठन तालिबानको गतिविधि बढेको छ । उसले ताजिकिस्तानको सीमावर्ती प्रान्त बदाख्शन लगायतका क्षेत्रमा कब्जा जमाएको छ । तालिबानको बढ्दो गतिविधिप्रति पश्चिमी मुलुकका गुप्तचर संस्थाहरुले भने चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी सेना फिर्ता जान थालेसँगै तालिबान लडाकूले एकपछि अर्को क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकेको छ । यी क्षेत्रमा सरकारी सेनामा भने आत्मसमर्पण गर्ने वा भागेर अन्य क्षेत्रमा जानेजस्ता गतिविधि देखिएको छ । केही पर्यवेक्षक, अन्तराष्ट्रिय आतंकवादको नसोचेको आगमन भइरहेको बताउँछन् ।
सुरक्षा र आतंकवादका विश्लेषक डा. सज्जन गोहेल भन्छन्, ‘अफगानिस्तानबाट अमेरिका फिर्ता आउनुले तालिबानको कब्जा रोक्न नसकिने अवस्थामा पुगेको छ । र यसले अल कायदालाई पनि आफ्नो सञ्जाल पुनः विस्तार गर्ने मौका दिएको छ । यो संगठनले फेरि एकपटक विश्वभर आक्रमणको षडयन्त्र रच्न सक्छ ।’ अमेरिकी सेना फिर्तापछि तालिबानको पुनरागमन निराशावादी अनुमान हो । तर, दुई कुराहरु निश्चित छ ।
पहिलो, सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा निकै कडा कानुन लगाउँदै शासन गरेको कट्टर इस्लामवादी संगठन तालिबान कुनै न कुनै रुपमा पुरानो स्वरुपमा फर्किन थालेको छ । उसले राजधानी सहर काबुललाई बलपूर्वक लिने कुनै महत्वाकांक्षा नरहेको बताएको छ ।
तर मुलुकको ठूलो हिस्सामा यसअघि नै दबदबा कायम गरिसकेको छ र अफगानिस्तानलाई इस्लामिक राज्य बनाउने माग छाडेको छैन । दोस्रो, अल कायदा र उसका प्रतिद्वन्द्वी संगठन इस्लामिक स्टेट इन खुरासान अफगानिस्तानमा आफ्नो अभियान बढाउने दाउ खोज्नेछन् ।
अल कायदा र आईएस पहिलादेखि अफगानिस्तानमा सक्रिय छन् । अफगानिस्तान एक पहाडी मुलुक हो, जसको फाइदा चरमपन्थी समूहले उठाउने गरेका छन् । अमेरिका र अन्य मुलुकको साथ पाएको बेला अफगानिस्तानको गुप्तचर संस्था, एनडीएसले आशिंक रुपमा आतंकवादलाई नियन्त्रित गरेपनि आक्रमण र बमबारी पूर्णरुपमा रोकिएको छैन ।
तर पश्चिमी मुलुकका सेनाको बलमा अफगान सुरक्षाबलमा चरमपन्थी आक्रमणको जवाफ दिनुका साथै आश्चर्यजनक ढङ्गले चरमपन्थी समाउँथ्यो । तर विदेशी सेना फर्किएसँगै अफगान सेना एक्लैले यो अभियान अगाडि बढाउनुपर्ने चुनौती छ ।