धनगढी । भारतमा रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–४ का पुष्कर थापा कोरोनाको दोस्रो लहरका बेला चैतमा घर फर्किएका थिए । उता कमाएर ल्याएको रकम यता महिना नपुग्दै तिरतारमा सकियो ।
घरमा नुनतेलको खर्चका लागि पनि समस्यामा परेका उनले पसल गरे। तर, निषेधाज्ञाका कारण पसल चलेन । उनी फेरि भारततिर हिँडेका छन् ।
‘पसल गरेँ । बन्दले चलेन । अरू मजदुरी केही पाइनँ’, गौरीफन्टा सीमा नाकामा लाम लागेको अवस्थामा भेटिएका थापाले भने, ‘परिवार पाल्न भारत जानुको विकल्प देखिनँ । गरिबले भारतबाहेक काँ जाने त ? विदेश जान लाखौं खर्च हुँदैन । टिकट काटेपछि भारत जान सजिलो । त्यसैले आज भारत जान लागेको ।’
कैलालीको लम्कीचुहा नगरपालिका मोतीनगरका गणेश बडुवाल पनि शुक्रबार भारत पसेका छन् । मुम्बईमा काम गर्ने बडुवालले भने, ‘घरदेश छोड्न कसलाई राम्रो लाग्ला र ? तर, केही रोजगारी पाइँदैन, के गर्नु ? भारत जानुको विकल्प छैन ।’ बडुवाललाई भारतमा अझै कोरोनाको कहर यथावत रहेको थाहा छ ।
दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोना पुष्टि भइरहेको समाचारमा सुनेको उनले बताए । ‘तर, त्यहाँ मालिकले खोप लगाएपछि कोरोना लाग्दैन । लागे पनि अस्पताल भर्ना हुनुपर्दैन भने’, उनले भने, ‘त्यसैमा हाम्रो देशमा खोप पनि पाइँदैन, मालिकले बोलाएकाले जान थालेको हुँ ।’
कोरोना महामारी ओर्लिएपछि भारतले फेरि सहरहरू खुल्न थालेका छन् । सार्वजनिक यातायात र रेल सेवा सञ्चालनमा आएका छन् । ‘दुई महिना भयो घर आएको । दुई महिनामै बालबालिकालाई के खाऊँ, के लाऊँ भइँसक्यो । भारत नजानुको विकल्प पनि त छैन नि’, कैलालीको लम्कीचुहा–४ का रामबहादुर विष्टले भने, ‘नेपालमा मजदुरीसम्म पनि पाइएन ।
कतै विद्यालय भवन, कतै सडक बन्दा र काम पाउला भनेर खोजेको तर सबै काम डोजरले गरिसक्यो भन्छन् । त्यसैले केही सीप नलागेपछि भारत हिँडेको ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।