• बैशाख २१ २०८३, सोमबार

रवि पत्नीले अनलाइनखबरविरूद्द हालेकाे मुद्दा जिल्ला अदालतद्वारा खारेज

बैशाख २१ २०८३, सोमबार

काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने र आफूसँग जोडिएको समाचारले गालीबेइज्जती भएको भन्दै उनकी पत्नी निकिता पौडेलले हालेको मुद्दा काठमाडौं जिल्ला अदालतले दाबी नपुगेको भन्दै खारेज गरिदिएको छ ।

निकिताले अनलाइनखबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालसहित विभिन्न मिडियाका २९ जनाविरुद्ध हालेको रिटमा दाबी नपुग्ने भन्दै सोमबार खारेज गरेको हो ।

लामिछाने तत्कालीन प्रचण्ड नेतृत्वकाे सरकारमा उपप्रधान तथा गृहमन्त्री रहेका बेला ०८० चैत २१ मा काठमाडौं महानगरले निकिता निवर्तमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको थियो । हालका प्रधानमन्त्री बालेन शाह त्यसबेला काठमाडौं महानगरका मेयर थिए ।

महानगरले निकिताको सहकारीमा छापा हानेको विवरणसहित वक्तव्य प्रकाशित गरेको थियो । अनलाइनखबरको समाचार त्यसै वक्तव्यमा आधारित थियो ।

त्यसपछि निकिताले आफ्नो बेइज्जती भएको भन्दै अनलाइनखबरविरुद्ध मुद्दा हालेकी थिइन् । सोमबार काठमाडौं अदालतले निकिताको दाबीमा आधार नभेटिएको ठहर गर्दै रिट खारेज गरेको हो ।
उनले अनलाइनखबरसहित कान्तिपुर, नागरिक, उकेरा, अर्थ सरोकार, जनआस्थाका २९ जनाविरुद्ध रिट दायर गरेकी थिइन् ।