काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप क्षेत्रमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य घुइँचो देखिएको छ।
शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतम को २५७०औँ जयन्ती आज विभिन्न धार्मिक कार्यक्रमका साथ मनाइँदै छ। हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको नवौँ अवतारका रूपमा मान्ने बुद्धको पूजा, आराधना तथा प्रवचन गरी दिवस मनाउने परम्परा रहेको छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीमा बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा र विहारहरूमा पुगेर पूजा–अर्चना गर्ने गर्छन्। लामा तथा बौद्ध धर्मगुरुको उपस्थितिमा परम्परागत विधिअनुसार धार्मिक क्रियाकलाप सञ्चालन भइरहेको छ।
आजका दिन लुम्बिनी, बौद्धनाथ स्तूप लगायतका धार्मिक स्थलहरूमा पनि विशेष कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदै छ।