काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सातौँ राष्ट्रिय शिखर सम्मेलन भोलिदेखि शुरु हुँदैछ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण यसअघि स्थगित सम्मेलन भोलि र पर्सी (असार १७ र १८ गते )हुने जानकारी दिएको हो ।
परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार सम्मेलन कार्यालयबाटै भर्चुअल माध्यमबाट हुनेछ ।
स्वास्थ्य तथा जनसंख्याका विषयमा नयाँ नयाँ अनुसन्धान गर्न र विगत सात वर्षदेखि वार्षिक रुपमा शिखर सम्मेलन गर्दै आएको ज्ञवालीले जानकारी दिए ।
सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान कार्यहरूको प्रस्तुति, १९ वटा पोष्टर तथा २४ वटा आमन्त्रित प्रस्तुतिकरण रहने उनको भनाइ छ ।
सम्मेलनबाट उत्कृष्ट वैज्ञानिकहरूको छनोट गरी विभिन्न अवार्डबाट सम्मानित गरिने परिषद्ले जनाएको छ ।