• मंसिर १५ २०८१, शनिबार

एमाले दसौँ महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णयमा पुग्यो किन ?

असार १३ २०७८, आईतवार

काठमाडौं । नेकपा (एमाले) दसौँ महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णयमा पुगेको छ । आइतबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उक्त महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय गरेको पूर्वमन्त्री एवम् एमाले प्रतिनिधि सभा सदस्य महेश बस्नेतले जानकारी दिए ।

पहिलो पटक विघटित संसद् पुनःस्थापना भए पश्चात् सर्वोच्च अदालतले तत्कालिन दुई ठूला पार्टी एमाले र नेकपा माओवादी केन्द्र ब्युँत्याएको थियो । उक्त दुई ठूला राजनीतिक दल ब्युँतिएसँगै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट चिडिएका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल पुनः एमालेमै फर्किएका थिए ।

तथापि नेपाल–खनाल एमालेमै फर्केपछि उनीहरूको समूहलाई साथमा लैजानुको साटो प्रधानमन्त्री ओलीले फागुन २८ गते आफ्नो समूहका केन्द्रीय सदस्यहरूको सुटुक्क बैठक राखेर माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका २३ जना नेतालाई थप गर्दै केन्द्रीय कमिटीे विस्तार गरेको थिए । नेपाल–खनाल समूहले सो कमिटी विस्तारलाई पार्टीको विधानविपरीत भएको भन्दै निर्णय खारेजीको माग गरेको थियो ।

त्यसपछि गत वर्ष २०७७ चैत ७ गते ओलीले अर्को बैठक राखेर उक्त कमिटीलाई दसौँ महाधिवेशन आयोजक कमिटीमा परिणत गरेका थिए । जसमा अध्यक्ष र महासचिवबाहेक अन्य कुनै पदाधिकारी राखिएको छैन । बाँकी सबै पद खारेज गरिएको छ । त्यसपछि नेपाल–खनाल समूह झन् रूष्ट बन्दै गएको छ । उसले दसौँ महाधिवेशन आयोजक कमिटी पार्टीको विधानविपरीत भएको भन्दै विरोधसमेत गर्दै आएको छ ।

त्यस्तै सर्वोच्च अदालतले गत जेठ २७ गते एमालेको दसौँ महाधिवेशन आयोजक कमिटीलाई वैधता दिन नसकिने भन्दै अन्तरिम आदेश दिएको छ । एमाले अध्यक्ष केपी ओलीले उक्त आदेशको अवज्ञा गर्दै पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गराएका थिए । त्यतिमात्रै नभएर, सर्वोच्चले एमाले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी एमाले पार्टीको वैधानिक संरचना नभएको भन्दै कर्णालीका चार सांसदलाई पनि पुनर्बहाली गरेको छ । तर, उनीहरू यसपटक पनि पुनः कारबाहीमा परेका छन् ।

तथापि अध्यक्ष आलीले दसौँ महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिलाइदिन सर्वोच्चमा जति नै हारगुहार गरेपनि त्यो सम्भव नभएपछि उक्त महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छन् । गत फागुन २८ गते ओलीले आफनो समूहका केन्द्रीय कमिटी सदस्यहरूलाई भेला गरेर केन्द्रीय कमिटी थप विस्तार गरेका थिए । त्यसपछि पुनः चैत ७ गते ओलीले अर्को बैठक बसालेर उक्त कमिटीलाई दसौँ महाधिवेशन आयोजक कमिटीमा परिणत गरेका थिए ।

तथापि उक्त आयोजक कमिटीलाई एमाले अध्यक्ष ओलीले विघटन गर्ने भएका छन् । बुधबार आयोजक कमिटीको बैठक बोलाएर त्यसैमा आयोजक कमिटीको विघटन गर्ने तयारी ओलीले गरेको स्रोत बताउँछ । आगामी बुधबार बस्ने आयोजक कमिटीले ओलीले एकताका लागि अघि सारेका ६ बुँदे एकता प्रस्ताव आह्वानलाई अनुमोदन गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको पूर्वमन्त्री एवम् एमाले प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बताए ।

बस्नेतका अनुसार, ‘केन्द्रीय कमिटीको बैठक सकभर बुधबार नै बस्ने छ । तर, उक्त बार बस्न नसके पनि नभए बिहीबार केन्द्रीय कमिटीको बैठक बस्ने नै छ । त्यस दिन बस्ने केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीज्यूको एकता प्रस्ताव आह्वान र पार्टी एकताको भावनाबमोजिम एमालेलाई साविककै अवस्था अर्थात् २०७५ जेठ २ मा फर्काउने निर्णय हुनेछ ।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यसभन्दा अघि नेपाल–खनाल समुहलाई एकताका लागि ६ बुँदे प्रस्ताव आह्वान गरेका थिए । जसमा मुलतः २०७५ जेठ ३ गतेको नेकपा एमालेको कमिटी ब्युँत्याउने भनी उल्लेख गरिएको छ । तर, ओलीबाट चिडिएको नेपाल–खनाल समूहले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । नेपाल–खनाल समूहले माओवादी केन्द्रसँग एकता गर्नुभन्दा अघिकै अवस्था वा २०७५ जेठ २ गतेको पार्टी कमिटी र संगठन ब्युँत्याउनु पर्ने माग राख्दै आएको छ ।