कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ११ बदालकोट नगरपालिका क्षेत्रभित्र पर्छ । यो ठाउँ नाम र भूगोलले नगरपालिकाभित्र समेटिएको छ तर नगरपालिका भएपछि पाउनु पर्ने र हुनु पर्ने सेवा सुविधा भने त्यहाँका जनताले पाएका छैनन् ।
वडाअध्यक्ष र नगरपालिकाका प्रमुखसित वडामा विकासका योजना दिने बारेमा कुरा भएका पनि हुन् तर ती कुरा कुरैमा मात्र सीमित भए । स्थानीय सरकारलाई बदालकोट गाउँ विकट रहेको र विकास गर्नुपर्ने भन्ने थाहा नभएको पनि होइन । बदालकोटका जनताको पीडामा मलम लगाउन भने अझै सकिएको छैन ।
नेपालमा संविधान बनेको र स्थानीय सरकार बनेको पाँच वर्ष बित्न लाग्दा पनि अहिलेसम्म वडामा बत्ती र सडकको सुविधा पुगिसकेको छैन । बजेट परेपछि काम गर्न समय लाग्न त सक्छ नै तर यहाँको लागि न बजेट पर्छ न बजेट पार्ने काम नै हुन्छ ।
स्थानीयलाई यो वडामा विकासका सुविधा नदिनुले यहाँको स्रोतलाई अर्कैले प्रयोग गर्नका लागि बदालकोटलाई नगरपालिकामा समेटेका हुन् की जस्तो लाग्न थालिसक्यो ।
यस वडामा प्रसस्त जलस्रोत र काठ तथा दाउरा अनि घाँस रहेको छ । बदालकोटका सबै पानीका मुहान थुनेर सदरमुकाम मान्म बजारमा लगिएको छ । मान्म बजार वडा नं १ मा पर्छ । यो नगरपालिकामा वडा नं पनि क्रमगत हिसाबले राखिएको छैन । त्यहीँ नजिकै पनि कतै १ नम्बर वडा त कतै ११ न. वडा बनाइएको छ ।
यस वडाका केही व्यक्ति बदालकोटलाई नगरपालिका गाभ्ने प्रयास सफल भएकोमा निकै खुशी भएका थिए । यो गाउँलाई खाँडाचक्र नगरपालिकामा गाभ्न सफल भएपनि विकासका पूर्वाधार र अन्य सुविधा नपाएपछि उनीहरुको खुसीयाली सेलाएको छ ।
अहिले उनीहरु नै बदालकोटलाई बरु पचलझरना गाउँपालिकामा समेटेको भए यतैबाट वडानम्बर गन्ती गन्न सुरु हुन्थ्यो, बाटोघाटो बन्थ्यो, तर के गर्नु नगरपालिका भएर पनि हामी पछि परियो भनेर गुनासो गर्छन् । आफ्नो वडामा यो कुरा मिलाउन सक्ने नेतृत्व नभएका कारण बदालकोटबासीले दुःख पाएको स्थानीयको भनाई रहेको छ ।
‘कालिकोटमा केन्द्रिय प्रसारण लाइन आयो भनिन्छ तर हाम्रो वडामा त ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भने जस्तै भएको छ अहिलेसम्म मिटर बक्स पनि दिएको छैन ।’ एक स्थानीयले भने । एकजना स्थानीय युवा आफ्नो नेताहरुको बेवास्ताप्रति निकै आक्रोशित भए ।
उनी भन्छन्,‘यो सबै कमजोरी अगुवाहरुकै त हो । मन्त्री भएका र सांसद र मेयरहरु बदालकोटलाई आफ्नो क्षेत्र भनेर गर्व त गर्छन् तर जनतालाई सजिलो हुनेगरी सेवा सुविधा दिने काम भने गर्दैनन् ।’ उनी थप्छन्,‘अब यो वडाका युवाहरु नेताका यस्ता चालहरु बुझ्दै छन्, अब आउने दिनमा काम गर्न सक्ने युवालाई यो ठाउँको नेतृत्व छान्छौं, काम गर्न नसक्नेलाई फाल्छौं ।’