• मंसिर १० २०८१, सोमबार

साइकल दुर्घटनामा परी बेलायतमा एक नेपालीको मृत्यु

असार ११ २०७८, शुक्रबार

काठमाडौं । बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा परि ३४ वर्षे बद्री गौतमको मृत्यु भएको छ । गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोडनेर गल्स एकेडेमी स्कुल अगाडि साइकलबाट पल्टिएका थिए ।

घटनापछि नटिङघम शहरस्थित क्वीन्स मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएको छ । तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

त्यसपछि साइकल चलाउन छाडेका गौतमले केहि दिन अघिमात्र साइकल चलाउन शुरु गरेका थिए । नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउँमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत गएका थिए ।

उनी सेफको रुपमा कार्यरत थिए । गौतम बेलायतमा श्रीमतीसँगै बस्दै आएका थिए । नेपाली समाज नटिङघमका आजीवन सदस्य समेत रहेका बद्रीको अन्त्यष्टी शनिबार ११ बजे गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए ।