महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स (सुनचाँदी पसल) सञ्चालन गरेका स्थानीयवासी वीरेन्द्र साहको घरमा गए राति डाकाहरुको समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेका छन् ।
राति २ बजेको समयमा नौ-दश जनाको समूहमा घरको पछाडिको ढोका फोडेर आएका डाकाहरुले नलकटुवा पेस्तोलले पसले एवं घरमूली ५० वर्षीय वीरेन्द्र साहको ढाडमा गोली हानेका छन् भने निजकी पत्नी ४५ वर्षीया सुशीला देवी, छोरा २५ वर्षीय शम्भु, छोरी २० वर्षीया कञ्चनकुमारी र अर्का छोरा १७ वर्षीय राजीवलाई अनुहार र टाउकोमा रड प्रहार गरी गम्भीर घाइते बनाएर लाखौँको लुटपाट गरेको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई गए राति नै जनकपुरस्थित गोदावरी अस्पतालमा लगी उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । डाकाहरुको समूहले वीरेन्द्रले सञ्चालन गरेको पसलबाट नगद रु दुई लाख, पाँच तोला सुन र १७२ तोला चाँदी गरी जम्मा रु नौ लाख ९७ हजार लुटपाट गरी लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अन्य प्रहरी र्एकाइबाट डाकाहरु खोजतलासका लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।