• मंसिर १० २०८१, सोमबार

मेलम्चीमा ३ चिनियाँ, ३ भारतीय सहित ८ कामदार बेपत्ता

असार ३ २०७८, बिहीबार

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले आयोजनाका ८ कामदार सम्पर्कविहीन भएको बताएको छ । बुधबार विज्ञप्ति जारी गर्दै आयोजनाले ३ चिनियाँ, ३ भारतीय र २ नेपाली कामदार सम्पर्कविहीन रहेको बताएको छ ।

यस्तै आयोजनाका ७६ जनालाई बुधबार हेलिकप्टरबाट उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उद्धार गरिएकाहरूलाई काठमाडौं र धुलिखेल ल्याइएको छ ।

सम्पर्कमा आउन बाँकी रहेका कामदारहरूको खोजीमा सबै संयन्त्र परिचालन गरिएको उनले बताए । कामदारहरूको खोजी तथा उद्धारका लागि आयोजनाले सबैमा सहयोगका लागि अपिल गरेको छ ।

आयोजनाको हेडवक्र्स नजिकैको क्याम्पसाइट बाढीले बगाएपछि मंगलबार रातिदेखि नै प्रहरी, प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी गरिएको थियो । बाढीले आयोजनाका क्याम्पहरु, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल बगाएको छ ।

प्राविधिक निरीक्षणका लागि आयोजनाको सुरुङ मंगलबार बिहान ११ बजेदेखि बन्द गरिएको थियो । सुरूङ समयमै बन्द गरिएकोले ठूलो दुर्घटनाबाट जोगिएको छ ।