• मंसिर १० २०८१, सोमबार

फुटको संघारमा पुगेका एमाले नेताबीच बोलचाल बन्द

जेष्ठ ३१ २०७८, सोमबार

काठमाडौं । फुटको संघारमा पुगेका एमाले नेताहरुका बीचमा तिक्तता झन बढेको छ ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दैछ यो सब ?’

पार्टी एकतामा सक्रिय युवा नेता योगेश भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए । पार्टीका शीर्ष नेताहरूमा आफ्नासँग भन्दा पराईसँग सहकार्य गर्न खोज्ने प्रवृत्तिले एमाले विभाजनको संघारमा छ । अधिकांश सर्वसाधारणको सामाजिक सञ्जालमार्फत नै भट्टराईलाई जवाफ थियो, ‘दोस्रो पुस्ताका नेताहरू मिले पहिलो पुस्ताका नेताहरू एकतामा आउन बाध्य हुनेछन् ।’

हुन पनि, दोस्रो पुस्ताका नेताहरू पार्टी एकताका लागि सक्रिय भइरहँदा पार्टी नेतृत्व हाँकेका, हाल नेतृत्व र वरिपरी रहेका तथा आगामी दिनमा पनि नेतृत्वको दाबी गरिरहेका नेताहरूबीच भने बोलचाल बन्दको अवस्था छ ।

एकताको वातावरण बनाउने भन्दा एकले अर्कोलाई आरोप प्रत्यारोप गरेर परिस्थिति झन् जटिल बनाउनेतिर पहिलो पुस्ताका नेताहरू सक्रिय छन् ।

फुटको डिलमा पुगेको एमाले जोगाउन युवा नेताहरू सक्रिय छन् । दोधारे बनेको, पदीय लोभमा फसेको, मन्त्रीका लागि बार्गेनीङमा लागेको लगायतका संगीन आरोपहरू आइलागे पनि आफूहरू पार्टी एकताका लागि कुनै कसुर बाँकी नराखी सक्रिय रहने उनीहरूको भनाइ छ ।

दोस्रो पुस्ताका नेताहरू जतिसुकै दौडधुपमा लागे पनि पहिलो पुस्ताका शीर्ष नेताहरूमा देखिएको अहम नै समाधानमा बाधक बनेको भट्टराईको बुझाइ छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।