काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक सापकोटाले छलफल गर्न लागेका हुन् ।
सभामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।
प्रधानमन्त्री केपी ओलीको सचिवालयले प्रधानमन्त्रीलाई बोलाएको विषयमा अनविज्ञता प्रकट गर्यो । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उतै (सभामुखलाई) सोध्नुस् न । पत्र कहाँ पठाउनु भएको छ ? थाहा छैन । हामीलाई जानकारी छैन । जानकारी नै नभएको ठाउँमा प्रधानमन्त्री ज्यू जानुहुन्छ होला र ?’
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा असाधारण कदम चाल्ने बताएका सापकोटाले छलफल र परामर्शमा जोड दिएको पाइन्छ ।