• मंसिर १० २०८१, सोमबार

६ नेता उपेन्द्रतिर फर्किएपछि महन्थ पुगे प्रम भेट्न बालुवाटार

जेष्ठ २१ २०७८, शुक्रबार

काठमाडौं । जसपा महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन् । ती ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ ।

पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन् । यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए । उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन् ।

मृगेन्द्रसिंहले अर्का अध्यक्ष ठाकुरले जसपालाई पुरानो राजपालाई जस्तै गतिहीन बनाउन खोजेकाले आफूले उपेन्द्र समूहलाई साथ दिएको बताए । यसैगरी साहले आफ्नो सहयोग र समर्थन अध्यक्ष उपेन्द्रलाई रहेको प्रष्ट पारे । पछिल्लोपटक कित्ता बदलेका मृगेन्द्रसिंह राष्ट्रियसभा सदस्य हुन् भने रामनेरश र साह प्रदेश २ का मन्त्री हुन् ।
यता जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । ठाकुर र महतो हरेक दुई–तीन दिनमा प्रधानमन्त्रीलाई भेट्न बालुबटार पुग्छन् । ठाकुर–महतो खेमा सरकारमा जान लागेको छ । बिहीबारको भेट मन्त्रालय बाँडफाँट टुंगो लगाउन केन्द्रित भएको ठाकुर पक्षले जनाएको छ ।

ठाकुर पक्षले ८ वटा मन्त्रालय मागेको छ । ठाकुर पक्षका नेता सुरेन्द्र झाले मन्त्रालयको विषयभन्दा पनि जसपाले उठाएका मुद्दा सम्बोधन गर्न, कोरोना महामारी नियन्त्रण गर्ने, संविधान संशोधन कार्यदलको कार्यविधि बनाउने विषयमा छलफल गर्न ठाकुर लगायत बिहीबार बालुवाटार गएको बताए । ठाकुरसँगै महतो, शरतसिंह भण्डारी र अनिल झा पनि बालुवाटार गएका थिए । यो समाचार नागरिक दैनिकमा छ ।