काठमाडौं । सरकारले आगामी वर्षको बजेटमार्फत कीर्तिपुरमा १५ सय शय्याको अतिविशिष्टीकृत सेवासहितको अस्पताल बनाउने घोषणा गरेको छ । तीन वर्षभित्र उक्त अस्पताल बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित स्वरुप कीर्तिपुरमा बनाउन लागिएको छ । महाराजगञ्जमा अस्पताल निर्माण गर्ने ठाउँको अभावका कारण सेवा विस्तार गर्न नसकेपछि कीर्तिपुरमा उक्त अस्पताल बनाउन लागिएको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्रा.डा. दीव्यासिंह शाहले बताइन् । अस्पतालका लागि नक्शा डिजाइन सहितको डीपीआर तयार भैसकेको र अब अन्य काम छिट्टै अगाडि बढाइने उनको भनाइ छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले अस्पतालका लागि ३०० रोपनी जग्गा चाहिने अनुमान गरेको थियो । सो जग्गामा अतिविशिष्टीकृत अस्पताल र राष्ट्रिय रोग निदान केन्द्र बनाइने भएको छ । यसका लागि चाहिने आवश्यक रकम सरकारले नै व्यवस्थापन गर्ने भएको छ ।
आज (शनिबार) बजेट विनियोजन गर्दै अर्थमन्त्री विष्णु पौडेलले जटिल तथा घातक रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गरि स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत उक्त अस्पताल निर्माण गर्न लागेको बताए ।
जसमा नेफ्रोलोजी, यूरोलोजी, न्यूरो सर्जरी, स्पाइनल सर्जरी, कार्डियोलोजी, कार्डियो सर्जरी, पाल्मानोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी र ग्याष्ट्रोसर्जरी लगायत रोगको विशिष्टिकृत सेवा प्रदान गरिने छ । त्यहाँ उक्त रोगको अध्ययन तथा अध्यापन समेत हुने अर्थमन्त्री पौडेलले जानकारी दिए ।
गत चैत २० गतेको मन्त्रिपरिषद् बैठकले त्रिविको स्वामित्वमा रहेको परीक्षा नियन्त्रण कार्यालय बल्खुको पश्चिततर्फ गाङ्खेलको ६० रोपनी जग्गा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानलाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै मिर्गौला तथा पिसाब लगायत अन्य जटिल रोगको अध्ययन तथा अध्यापन र तालिमसहित विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने विशिष्टीकृत अस्पताल र राष्ट्रिय रोग निदान केन्द्र बनाउने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्रा.डा. शाहले बताइन् । त्यसैगरी नयाँ संरचना निर्माणका लागि करीब तीन सय रोपनी जग्गा चाहिने भएकाले त्रिवि कीर्तिपुरको अरू जग्गासमेत लिन सकिने प्रा.डा. शाहले जानकारी दिइन् ।