जनकपुर । प्रदेश २ को सरकारले प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ। अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढेको थियो ।
४ दिन समय सीमा पाएको समितिले अस्पतालको उपचार, कर्मचारी व्यवस्थापन, प्रतिष्ठानअन्तर्गत गएपछि गरिनु पर्ने संरचनागत परिवर्तन, लगायत अन्य सुविधाहरूलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन्।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्थाबारे जानकारी लिन सरोकारवालासहित अस्पतालका वरिष्ठ चिकित्सकहरूलाई बैठकमा बोलाएका थिए।
मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताललाई थप व्यवस्थित बनाउन अस्पताल प्रशासनले गरी रहेको कामबारे अस्पतालका मेसु लगायत चिकित्सकहरूसँग मागेका थिए।
जवाफमा उनीहरूले अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपायबारे आ-आफ्नो समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए।
चिकित्सकहरूले दिएको सुझावलाई संकलन गर्दै अस्पतालको समग्र सुधारको भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ।