• बैशाख २० २०८३, आईतवार

सामुदायिक वन महासंघले २६औं वार्षिकोत्सव मनाउने

जेष्ठ १४ २०७८, शुक्रबार

काठमाडौँ /

सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय समितिले आफ्नो २६औं स्थापना दिवस साताव्यापी रुपमा मनाउने घोषणा गरेको छ। २०७७ सालभरि आफ्नो रजत जयन्ती मनाएको महासंघले जेठ १८ गते आफू स्थापना भएको दिनलाई मध्यनजर गर्दै २६औं वार्षिकोत्सवक कार्यक्रम सार्वजनिक गरेको हो।

केन्द्रिय समितिद्वारा आयोजित भर्चुवल पत्रकार सम्मेलनमा अध्यक्ष भारती पाठकले महासंघले विगत २६ वर्षको अवधीमा ६ वटा राष्ट्रिय महाधिवेशन, एउटा विशेष महाधिवेशन र ८ वटा राष्ट्रिय परिषद सम्पन्न गर्दै राज्य पुर्नसंरचना अनुसार संगठनलाई संघ, प्रदेश, जिल्ला र स्थानीय स्तरमा विस्तार र सुदृढ गर्दै आएको जानकारी दिईन्।

२०५२ साल जेठ १८ गते स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघले २६ वर्षको अवधिमा आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको दावि सचिव ठाकुर भण्डारीले गरे।

महासंघले भर्चुवल रुपमा गरेको पत्रकार सम्मेलन
महासंघले भर्चुवल रुपमा गरेको पत्रकार सम्मेलन

सामुदायिक वन उपभोक्ता महासंघमा हाल देशभर २२,४१५ सामुदायिक वन उपभोक्ता समूह रहेका छन् भने तिनीहरुले २२,३७,६७० हेक्टर जमिनलाई वनको रुपमा व्यवस्थापन गर्दै आएका छन्। महासंघले दावि गरे अनुसार देशभरिका सामुदायिक वनसमितिहरुमा २९,०७,८७१ घरधुरी संलग्न रहेका छन् ।

सामुदायिक वन महासंघले वन व्यवस्थापनमा पच्चिस वर्षमा वन संरक्षणमा आफूले खेलका भूमिका भनेर तराईका जिल्लाहरुमा रहेको सालको वनमा हुन लागेको विदेशी निजी कम्पनीहरुको हस्तक्षेप विरुद्धको आन्दोलन गर्दै वनमा विदेशी निजी कम्पनीहरुको हस्तक्षेप रोकी तराईमा सामुदायिक वन अभियान सञ्चालन गरिदै आएको, देशव्यापी रुपमा सामुदायिक वन हस्तान्तरण र उपभोक्ता समूहको क्षमता विकासका लागि निरन्तर अभियान तथा कार्यक्रमहरु सञ्चालन गरी सामुदायिक वनलाई स्थानीय समुदायको जीवनको अभिन्न अंगको रुपमा स्थापित गराएको मात्रै होइन, सामुदायिक वनमा बैज्ञानिक वन व्यवस्थापनको नाममा हुँदै आएको हस्तक्षेप रोक्नका लागि सञ्चालित अभियान स्वरुप बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज भएको र सामुदायिक वनको काठ लगायतका वन पैदावारमा हुँदै आएको केन्द्रिकृत हस्तक्षेप कम गराउन सफल हुनु लगायतलाई आफ्नो सफलताको रुपमा लिएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष भारती पाठक
सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष भारती पाठक

आगामी २५ वर्षको मार्गचित्र सहित २६ औं वार्षिकोत्सव मनाउना लागेको महासंघले वार्षिकोत्सवका साताव्यापी कार्यक्रम अनुसार आज पत्रकार सम्मेलन सम्पन्न गरेको छ भने जेठ १६ गते वृक्षारोपन तथा कोभिडबाट मृत्यू भएकाहरुको सम्झनामा श्रद्धाञ्जलीमा दिप प्रज्वलन गर्ने,१७ गते लैंगिक पुरुष च्याम्पियन अन्तरक्रिया गर्ने,१८ गते स्थापना दिवस, भर्चुवल वैठक तथा बेलुकी दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ। त्यस्तै वार्षिकोत्सव कार्यक्रम अन्तर्गत नै १९ गते वन उद्यम नीति तथा कार्यक्रम विषयक भर्चुवल अन्तरक्रिया गर्ने, २० गते वन क्षेत्रमा समावेसी नीति र यसको प्रभावकारीता बारे भर्चुवल अन्तरक्रिया गर्ने कार्यक्रम राखेको छ। वार्षिकोत्सवकै कार्यक्रमको रुपमा महासंघले जेठ २१ गते प्राकृतिक श्रोतमा स्थानीय समुदायको वन अधिकार बिषयको भर्चुवल अन्तरक्रिया गर्नेछ भने २२ गते वन तथा वातावरण संरक्षणमा सामुदायिक वनको योगदान बिषयक भर्चुवल अन्तरक्रिया कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव सम्पन्न गर्नेछ।

हेरौं वन महासंघले आफ्नो वार्षिकोत्सवको अवसरमा जारी गरेको विज्ञप्ति ⇓

मिति : २०७८।०२।१४
२६औं स्थापना दिवस

प्रेस विज्ञप्ति

सामुदायिक वन उपभोक्ता समूहहरुको वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने र उपभोक्ता समूहको क्षमता एवं नेतृत्व विकास गर्ने लक्ष्य सहित २०५२ साल जेठ १८ गते स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल देशभर रहेका सामुदायिक वन उपभोक्ता समूहहरुको प्रतिनिधिमूलक छाता संगठन हो । महासंघले विभिन्न आरोह अवरोहहरु पार गर्दै २६औं स्थापना दिवस मनाउन गइरहेको व्यहोरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउन पाउँदा खुशी तथा गौरवान्वित महसुस गरेका छौं ।

महासंघले स्थापना पश्चात् विगत २६ वर्षको अवधिमा ६ वटा राष्ट्रिय महाधिवेशन, एउटा विशेष महाधिवेशन र ८ वटा राष्ट्रिय परिषद सम्पन्न गर्दै राज्य पुर्नसंरचना अनुसार संगठनलाई संघ, प्रदेश, जिल्ला र स्थानीय स्तरमा विस्तार र सुदृढ गर्दै आएको छ । यसरी २६ वर्षको अवधिमा महासंघले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको छ ।

देशभर रहेका २२,४१५ सामुदायिक वन उपभोक्ता समूहले २२,३७,६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन् जसमा २९,०७,८७१ घरधुरी संलग्न रहेका छन् । वन उपभोक्ताको सकृय सहभागितामा सामुदायिक वनको भावना र मर्म अनुसार वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी भएको छ भने राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा नेपालको सामुदायिक वन एक सिकाई केन्द्र्र्रको रुपमा स्थापित भएको छ । नेपालको संविधान र नीति तथा कानूनले परिकल्पना गरेको नेपाली जनताको समृद्धिको अभियानमा सामुदायिक वनले पनि योगदान गर्दै आएको छ । यसै सन्र्दभलाई ध्यानमा राख्दै “वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार ः उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ महासंघले देशव्यापी आफनो २६औं स्थापना दिवस मनाउने योजना बनाएको छ । यस वर्ष कोरोना भाइरस (कोभिड १९) को संक्रमण र प्रभावलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरुको पालना गरी स्वास्थ्य सामग्री वितरण, राहत वितरण, सामुदायिक वनको सहयोग परिचालन लगायतका कार्यहरु र सम्भव भएसम्म स्थान अनुसार वृक्षारोपण लगायतका कार्यहरु गरी सप्ताहव्यापी रुपमा महासंघ स्थापना दिवस मनाइने छ ।

महासंघका प्रदेश, जिल्ला र स्थानीय तहमा रहेको सम्पूर्ण संरचना र सामुदायिक वन उपभोक्ता समूहहरुले कोभिड १९ को संक्रमण र प्रभावबाट जोगिनका लागि सचेतना अभिवृद्धि, क्वारेन्टाइन तथा आइसोलेशनका लागि सामुदायिक वनका भवनहरुको उपयोग, समूहका गरिब तथा विपन्न र रोजगारी गुमाएका श्रमिक वर्गको लागि खाद्यान्न र स्वास्थ्य समाग्री सहयोग, स्थानीय तहहरुको विपद व्यवस्थापन कोषमा नगद सहयोग, निषेधाज्ञाका क्रममा हुन सक्ने वन पैदावार चोरी तस्करी नियन्त्रण जस्ता कार्यहरु गर्दै आएका छन् । यी कार्यहरुलाई महासंघको २६औं स्थापना दिवस मनाउने क्रममा थप प्रभावकारी बनाउने छौं ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल स्थापनाको २५ वर्ष पुरा भएको उपलक्ष्यमा २०७७ सालभर महासंघले विभिन्न कार्यक्रमहरु आयोजना गरी आप्mनो रजत जयन्ती मनाएको छ । यस क्रममा महासंघले विगत २५ वर्षको अवधीमा हासिल गरेका महत्वपूर्ण उपलब्धीहको समीक्षा गरेको छ र यस क्रममा निम्न उपलब्धीहरु हासिल भएका छन् ः

पच्चिस वर्षका उपलव्धीहरु

तराईका जिल्लाहरुमा रहेको सालको वनमा हुन लागेको विदेशी निजी कम्पनीहरुको हस्तक्षेप विरुद्धको आन्दोलन गर्दै वनमा विदेशी निजी कम्पनीहरुको हस्तक्षेप रोकी तराईमा सामुदायिक वन अभियान सञ्चालन गरिदै आएको ।
देशव्यापी रुपमा सामुदायिक वन हस्तान्तरण र उपभोक्ता समूहको क्षमता विकासका लागि निरन्तर अभियान तथा कार्यक्रमहरु सञ्चालन गरी सामुदायिक वनलाई स्थानीय समुदायको जीवनको अभिन्न अंगको रुपमा स्थापित गरिएको ।
संविधानमा सामुदायिक अधिकारको सुनिश्चितताका लागि सञ्चालित अभियानका माध्यमबाट संविधानमा प्राकृतिक स्रोतको परिचालन र सोबाट प्राप्त लाभमा स्थानीय समुदायको अग्राधिकार हुने व्यवस्था गरिरएको ।
सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षहरुबाट सामुदायिक वनमा हुँदै आएका विभिन्न हस्तक्षेपहरु रोक्नका लागि द्वन्द्वरत पक्षहरुलाई दवाद सृजना गरी सामुदायिक वन अधिकारको सुरक्षा गरिएको ।
वन तथा वातावरण र जैविक विविधताको सन्दर्भमा विभिन्न समयमा तर्जुमा हुने वन नीतिहरु, वन ऐन तथा नियमावली, निर्देशिका र कार्यविधि तथा मार्गदर्शनहरुमा सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चितताका लागि विभिन्न वकालतका कार्यहरु गरी सामुदायिक वन अधिकारको सुनिश्चितता गरिएको ।
सामुदायिक वनमा लगाईदै आएको विभिन्न किसिमका करको बोझ हटाउन र सामुदायिक वन उपभोक्ता समूहको कोषमा विभिन्न पक्षबाट हुने हस्तक्षेप राक्नका लागि समुदायस्तरदेखि राष्ट्रियस्तरसम्म आन्दोलन र कानूनी उपचारका माध्यमबाट अधिकांश करको बोझहरु हटाउन सफलता मिलेको ।
सामुदायिक वन अधिकारमा प्रभाव पर्ने विभिन्न किसिमका संरक्षित क्षेत्रहरु, चुरे वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्र घोषणा तथा विस्तार गर्ने कार्यहरु विरुद्ध निरन्तर सामुदायिक अभियान सञ्चालन गरी सामुदायिक वनका माध्यमबाट नै वातावरण र जैविक विविधता संरक्षणमा सफलता हासिल हुने कुरा स्थापित गरिएको ।
सामुदायिक वनमा बैज्ञानिक वन व्यवस्थापनको नाममा हुँदै आएको हस्तक्षेप रोक्नका लागि सञ्चालित अभियान स्वरुप बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज भएको र सामुदायिक वनको काठ लगायतका वन पैदावारमा हुँदै आएको केन्द्रिकृत हस्तक्षेप कम हुँदै गएको ।
सामुदायिक वनमा आधारित वन उद्यम र पर्यापर्यटनमा देखिएका कानूनी अवरोधहरु हटाउनका लागि गरिनु पर्ने नीतिगत तथा कानूनी सुधारका लागि निरन्तर वकालतका माध्यमबाट आंशिक रुपमा नीतिगत सुधारहरु भएको ।
विभिन्न समयमा भएका प्राकृतिक प्रकोप र महामारीहरुमा सामुदायिक वन उपभोक्ता समूहबाट सहयोग जुटाउनका लागि देशव्यापी रुपमा उपभोक्ता समूहहरुलाई व्यापक रुपमा परिचालन गर्दै आएको र यसबाट प्रभावित समुदायलाई राहत पुगेको ।
सामुदायिक वनका माध्यमबाट जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि व्यापक रुपमा सामुदायिक वनको आर्थिक तथा अन्य स्रोत साधन परिचालन गरिदै आएको ।
ड्ड सामुदायिक वन उपभोक्ता समूहमा सुशासन, लैङ्गिक समानता, समाजिक रुपमा समानुपाति समावेशीकरण र सामाजिक आर्थिक न्याय स्थापनाका लागि क्षमता विकास र सामाजिक अभियानहरु सञ्चालन गर्दै आएको ।
२०६२÷०६३ को लोकतान्त्रिक जनआन्दोलन लगायत विभिन्न समयमा भएका जनआन्दोलन र नागरिक अभियानहरुमा सक्रिय सहभागता जनाई महासंघलाई वन क्षेत्र र नागरिक तथा सामाजिक अभियानको क्षेत्रमा एक सशक्त नागरिक समाजको रुपमा स्थापित गरिएको ।
संघीय राज्य संरचना अनुरुप महासंघको सांगठनिक संरचना स्थाीपत गरी देशव्यापी रुपमा र सबै तहमा महासंघको उपस्थिति, पहिचान र भूमिकालाई सशक्त बनाइएको ।
विगत २५ वर्षका सिकाईलाई आधार मान्दै आगामी २५ वर्षको लागि महासंघको नयाँ गन्तव्य सहितको मार्गचित्र तय गरिएको ।

आगामी २५ वर्षे गन्तव्यको मार्गचित्र
 सामुदायिक वनमा उपभोक्ता समूहको अधिकार सुरक्षित गर्दै थप सशक्त बनाउन निरन्तर पैरवी अभियान सञ्चालन गर्ने र तथ्य प्रमाणमा आधारित पैरवी अभियानका लागि ज्ञान निर्माणमा सुदृढीकरण गर्ने ।
 सबै खाले नागरिक तथा सामाजिक अभियानप्रति ऐक्यवद्धता गर्ने कार्यमा निरन्तरता दिने ।
 वन तथा प्राकृतिक श्रोतसँग सम्बन्धित प्रशासनयन्त्रमा लोकतान्त्रिकरण स्थापित गराउनमा सहयोग गर्ने
 सामुदायिक वन सम्बन्धी ज्ञानलाई संगठित र सुदृढीकरणका लागि सामुुदायिक वन श्रोत केन्द्रको सवलीकरण गर्ने ।
 सामुदायिक वनबाट सिर्जना हुन सक्ने आर्थिक संभाव्यताको विस्तृतीकरण गर्ने ।
 दिगो वन व्यवस्थापन पद्धतिको अभ्यास अपनाउन जोड दिने ।
 वन तथा कृषिलाई एकीकृत रुपमा व्यवस्थापन गर्ने प्रणालीको प्रवद्र्धन गर्ने ।
 आत्मनिर्भरता र दिगो विकासका सैद्दान्तिक अवधारणा अपनाउने ।
 कोभिड १९ लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोप र महामारीबाट प्रभावित समुदायहरुलाई राहत तथा सहयोग परिचालन गर्नका लागी कोषको स्थापना गरी संचालन गर्ने ।
 निर्धारित प्राथमिकताहरु हासिल गर्न महासंघ भित्र विभिन्न रणनीति र कार्यशैली अपनाइने (जस्तै ः बहुसरोकारवालासित साझेदारी र सहकार्यमा विस्तार, संस्थागत सुुधार, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, संचार माध्यम र सूचना प्रवाह सवलीकरण गर्ने र संभावित चुनौतीहरु आकलन गरी सम्बोधन गर्ने आदि)

अन्त्यमा, सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको पच्चीस वर्षको गौरवशाली उपलब्धीहरुबाट पाठ सिक्दै आगामी पच्चीस वर्षका लागि तय गरिएको मार्गचित्रको आधारमा कार्य गरी महासंघलाई आत्मनिर्भर गराई सामुदायिक वनको आन्दोलन अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं । महासंघको यस अभियानमा सहयोग, समन्वय र सहकार्य गर्नु हुने सवै निकाय, संघ संस्था, राजनीतिक दल, अभियानकर्मी, सरोकारवालाहरु र आम सञ्चार क्षेत्र प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
……………………
भारती पाठक
अध्यक्ष

महासंघ स्थापना दिवसका साप्ताहिक कार्यक्रमहरु

क्रस मिति विषय
१ २०७८।२।१४ प्रेस विज्ञप्ती तथा पत्रकार सम्मेलन
२ २०७८।२।१६ वृक्षारोपण तथा कोभिडबाट मृत्यू भएकाहरु प्रति श्रद्धाञ्जलीमा दिप बाल्ने
३ २०७८।२।१७ लैङ्गिक पुरुष च्याम्पियन अन्र्तक्रिया
४ २०७८।२।१८ स्थापना दिवस जुम वैठक तथा बेलुकी दीप प्रज्वलन
५ २०७८।२।१९ वन उद्यम नीति तथा कार्यक्रम विषयक जुम अन्तरक्रिया
६ २०७८।२।२० वन क्षेत्रमा समावेशीता नीति र यसको प्रभावकारीता जुम अन्तरक्रिया
७ २०७८।२।२१ प्राकृतिक श्रोतमा स्थानीय समुदायको वन अधिकार जुम अन्तरक्रिया
८ २०७८।२।२२ वन तथा वातावरण संरक्षणमा सामुदायिक वनको योगदान जुम अन्तरक्रिया

कोभिड १९ महामारीबाट सवै सुरक्षित रहौं ।