समाज र संंसार भरीको नीजि सम्पत्ति र एकनिष्ठ परिवारको संरचनाहरुलाई मलजल गर्ने सम्पूर्ण शक्ति राष्ट्रहरु र अरु देशहरुको पनि मूल्य मान्यता, विधि विधान, परम्परा र त्यसकै निरन्तरता छ । यो आर्थिक संरचनाले शोषण, दमन, युद्ध, हिंसा र आतंक जन्माउछ अनि यो एकनिष्ठ परिवारको सामाजिक संरचनाले पनि परिवारमा विवाद, मुद्दामामिला, हिंसा, आत्महत्या, विछोड जस्ता दुखान्त घटनाहरु सिर्जाउँछ भनेर ब्याख्या गर्दै त्यसको विकल्पका बारेमा सोधखोज र अनुसन्धान हुुनपर्छ भनेर धर्तीका अरु शक्तिराष्ट्रहरुमा समेत कुनै विद्वान र दार्शनिकहरु अझैसम्म जन्मन सकेनन् । सभ्य र विकसित भनिने वर्तमान संसारको मानवजातिको लागि यो चरम सरमका बात हुन् ।
झण्डै १ महिना अघि बर्मा (म्यानमार) मा निर्वाचित आङ सान सुकी सरकारलाई अपदस्य गरि सेनाले सत्ता कब्जा गर्यो । मूल नेतृत्वहरुलाई जेलमा राखेर त्यहाँको सेनाले गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा व्यापक धाँधली भयो भनी आरोप लगाउँदै १ वर्षमा अर्को स्वच्छ निर्वाचन गर्ने घोषणा गरेको छ । यो अन्तरालमा सेना प्रहरीको दमनले त्यहाँ झण्डै १ हजारको मृत्यु र अरु हजारौं जनता जेलनेलमा राखिएका छन् । बर्माको विगत सात दशकको इतिहास ज्यादै दुःखद र दुर्भाग्यपूर्ण छ । जहाँ २२ लाख जनता मारिएका छन् । यस रक्तरञ्जित घटनाको इतिहासमा हवाई आक्रमणबाट, टैंक र बुल डोजरले पेलेर, र बन्दुकको बम गोलाले के कति मान्छेहरु कत्लेआम गरे यसको सबभन्दा राम्रो तथ्य भ्वाइस अफ अमेरिका, वि.वि.सी., रेडियो पेकिङ, सिएनएन टिभी, बीबीसी टिभीहरुसँग हुनपर्छ ।
अब बर्माको अन्तरकथामा प्रवेश गरौं !
सन् १९४७ मा भारत र बर्मा सँगसँगै अंग्रेज उपनिवेशवादीहरुबाट स्वतन्त्र बने । त्यहाँको कम्युनिष्ट पार्टी स्वाधिनता प्राप्त पछि पुन मुक्ति युद्धमा लाग्यो । सेनासँग घमासान युद्धहरु भयो र ५९% बर्माको भूभाग मुक्त क्षेत्र बन्यो । सोभियत संघमा सन् १९५६ मा ख्रुश्चोभको उदय भएपछि बर्माको मुक्तियुद्ध पनि गम्भीर रुपले दुस्प्रभावित बन्यो किनकि अमेरिका, ब्रिटेन लगायत पश्चिमा शक्ति र सरकारहरुले बर्माको सेना र शासकहरुलाई आर्थिक, भौतिक, सैन्य, प्राविधिक हररुपले भारी सहयोग गर्दै आयो । त्यहाँको सेनाले लाखौं मुक्तिकामी बर्मेली जनताको रगतमा होली खेल्यो । त्यहाँको सत्ता त्यतिबेलादेखि नै क्रमशः सेनाले नियन्त्रणमा लिने वातावरण बनेको हो ।
त्यस घडीमा चीनको कम्युनिष्ट पार्टी र माओत्सेतुङ चाहीँ अलमलमा परे । बर्माबारे मात्र हैन, चीनसँग सीमा जोडिएको नेपाल, पाकिस्तान, भारत, थाइल्याण्ड लगायत सबै राष्ट्रहरुको मुक्तियुद्धका बारेमा चीनको नीति ‘सरकार–सरकारको सम्बन्ध र पार्टी–पार्टीको सम्बन्ध’ बन्न पुग्यो । ‘क्रान्तिको आयात–निर्यात हुँदैन’ पनि भने । जबकी विश्वका सम्पूर्ण मुठ्ठिभर, सामन्त, पूँजीपती, दलाल पूँजीपती, नोकरशाह वर्गको हितका स्वार्थमा केन्द्रित सत्ता र शक्तिहरु चाहीँ मजदुर किसान, महिला, आदिवासी, आप्रवासी श्रमिक वर्गहरुको आन्दोलन, संघर्ष र क्रान्तिलाई दमन गर्न र बिनाश तुल्याउन आर्थिक, भौतिक, सैन्य, बौद्धिक शक्ति र श्रोतहरु स्थलमार्गको ट्रक र रेल, हवाई जहाज र पानीजहाजहरुबाट भारी हतियारहरु पनि ओसार पोसार गर्थे, आयात निर्यात गर्थे । जुन आजसम्म जीवन्त छ । विश्वव्यापी परिश्रमी वर्गका जनताका दुश्मनी सत्ताहरु आजसम्म टिकी रहनुको मूलकारण यिनै सुत्रले काम गरिरहेछन् ।
चीनको मुक्ति संग्रामको इतिहासमा (सन् १९२१(१९४९ सम्म) जोसेफ स्टालिन नेतृत्वको सोभियत संघको सरकार र त्यहाँको कम्युनिष्ट पार्टीले मस्कोमा ‘डा.सनयात सेन विश्वविद्यालय’ पनि स्थापना गरेर सयौं र हजारौं चिनियाँ क्रान्तिकारी योद्धाहरु जन्माउन प्रशिक्षण र प्रोत्साहन गर्ने र अरु भौतिक, आर्थिक, सैन्य साथ सहयोग गरेर भारी सहयोग पुर्याएकै हो । सन् १९४९ मा चीनको मुक्तिपछि स्टालिनको समयभरी पनि यो क्रम जारी थियो ।
चीनका उपरोक्त ऐतिहासिक कुराहरु क्रान्तिको आयात निर्यात हो कि हैन ? कि पृथ्वीमा चीन मात्र यस्तो एउटा देश हो, जुन देशले अरु देशहरुबाट सम्पूर्ण क्रान्तिका कुराहरु प्राप्त (आयात) गर्न योग्य छ तर उसले बाहिर पठाउन (निर्यात) गर्न चाहीँ अयोग्य छ ? अथवा चीनले क्रान्तिका लागि रुसी सहयोग लिन मिल्ने तर चीनले चाहीँ क्रान्तिकै लागि अरु देशलाई सहयोग गर्न नमिल्ने ? त्यो त हैन होला ! यो माओत्सेतुङको तेस्रो विश्वको सिद्धान्त युग अनुकूल नहुनाको परिणाम हो । विश्वभरीका परिश्रमी वर्गको मुक्ति र स्वाधिनताको मार्गलाई त्यसले अवरोधमात्र पुर्यायो भन्न सकिन्छ । जुन सिद्धान्तले चिनीयाँ राष्ट्रवादको सम्बृद्धि र विश्वका शोषक र दमनकारी शासक र शक्तिहरुको मात्र संरक्षण गरेको देखियो । यो कुरा खुद हामी नेपाली परिवर्तनकामीहरुले पनि गहिरो गरी अनुभूति गरिरहेछौं । त्यो कसरी त भने, चीनको माओत्सेतुङकालमा नेपालको शासक वर्गमा राजा महेन्द्र र विरेन्द्र उसको पञ्चायती सत्ता थिए ।
चीनले नेपालको लागि कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, बाँसबारी जुत्ता कारखाना, हेटौंडा कपडा उद्योग लगायत कैयौं महत्वपूर्ण उद्योग र सिचाई आयोजनाहरु पनि निर्माण गरिदियो । जुन खरर्बौं खरब रुपैयाँ बराबरका थिए । नेपाली राष्ट्रवादको नजरमा यी महान् कुराहरु हुन् तर स्टालिनवादी अन्तराष्ट्रवादको दृष्टीमा यी सम्पूर्ण आर्थिक, भौतिक कुराहरु यहाँका मुठ्ठीभर शोषक वर्गको लागि र नेपालको राजतन्त्रात्मक पञ्चायती सत्ता र शक्तिहरुका नाफाका साधन बने । नेपालका आम परिश्रमी वर्गका जनता त यहाँको राजमार्गमा चल्ने सार्वजनिक गाडी र वहानहरुमा भाडा तिरेर यात्रा गर्न र सामान्य लजमा बास बस्न अझैसम्म पनि कठिन अवस्थामा छन् । भ्रष्टाचारी, तस्करी, सामन्ती, पूँजीपती, सुदखोर, गुण्डो अत्याचारी शोषक वर्गका र तिनका मान्छेहरु मात्र नीजी गाडी र सिण्डीकेट खोलेर सयर गर्ने, करोडौं र अरबौं कमाउने गरिरहेछन् र आर्थिक, भौतिक सुख सुविधाहरु प्राप्त गरिरहेछन् । अरु उद्योग कलकारखाना पनि उनीहरुकै स्वामित्वमा चलिरहेका छन् ।
माथि ‘स्टालिनवादी’ भन्ने शब्द प्रयोग भएको छ । मानवजातिमा शान्ति र सुव्यवस्थापूर्ण समाज स्थापना गर्न स्टालिनको मार्ग दर्शन मात्र एक अचुक हतियार हो । जुन व्यक्तित्वले मात्र व्यवहारतः कम्युनिष्ट अन्तराष्ट्रवादलाई परिपालना पनि गरे, त्यसैको परिणाम मंगोलिया, पूर्वीयुरोप, चीन र उत्तर कोरियाको मुक्ति र स्वाधिनताको एक महत्वपूर्ण पहेली हुन् । अनि सोभियत गणराज्यहरुको चौतर्फी सम्वृद्धि पनि । यस्तो व्यक्तित्वलाई पूँजीवादी र साम्राज्यवादीहरु अझैसम्म झुठ कुराहरुका सहारा लिएर सत्तो सराप गरिरेका छन् । र स्टालिनका अनुयायी र योद्धाहरुका पसिना, रगत र आँशुले सिञ्चित भूभागका नेतृत्वहरुले उनको नाम पनि उच्चारण नगर्नु गहिरो दुःखदपूर्ण र निन्दित कुराहरु हुन् ।
अब स्टालिनलाई शिरमा राखेर धर्तीयोद्धाहरु संसारभरि जन्मदै छन ! जसले कुनैपनि मूल्य चुकाएर उत्पादनका साधनहरु सामुहिकीकरण, राष्ट्रियकरण र अन्तराष्ट्रियकरण गर्ने छन् र मानवजातिलाई शान्ति र सुव्यवस्थापूर्ण समाजमा प्रवेश गराउनेछन् । जुन कुरा विश्वव्यापी मानवजातिको इच्छा र आकांक्षा हो । युगौंयुग अघिदेखि निहित स्वार्थ र नाफाको लागि बाँचिरहेका कुनै पनि शक्ति र श्रोतहरु स्टालिनवादीहरु सामु टिक्ने छैनन् । ती त सबै इतिहासका कुँडाकर्कट सावित हुनेछन् । एक गतिलो र भरपर्दो इशाराको मात्र जरुरत छ । एउटा गाउँ जस्तो बनेको यो संसारभरमा मान्छेहरु न्याय, समानता, स्वतन्त्रता र भातृत्वको रणभूमिमा उत्रन तयार देखिन्छन् । त्यो इशारा भनेको स्टालिनवादी दर्शन मात्र हो । स्वर्ग र नर्क पुर्वजन्म र पुनर्जन्मको दुहाईदिँदै आम परिश्रमी मजदुर, किसान र महिला वर्गलाई दास झैं मान्ने तर सामन्त, पूँजीपती, सुदखोरहरुको सेवा गर्ने कुनै पनि दर्शनहरु मानवजाति र पृथ्वीको लागि अन्धकारपूर्ण दर्शनहरु मात्र हुन, भन्न सकिन्छ ।
अब बर्मातर्फ नै फर्काैं !
सन् १९८० को दशकसम्म झण्डै १७ लाख क्रान्तिकारी र मुक्तिकामी बर्मीज जनता त्यहाँका सेनाहरुबाट पश्चिमाहरुका बन्दुक र गोलीले मारिए । यो हाम्रो ठहर हो । त्यसपछि चीनको आड पाएर बर्माका सेना र प्रहरीहरुबाट ५ लाख प्रजातन्त्रवादी जनता मारिए भनेर पश्चिमा सञ्चार माध्यमहरुले नै भनिरहेकाछन् । पछिल्लो चरणमा विश्व विजयको दौडमा पश्चिमाहरु पछाडी पर्दै गएको र चीन क्रमशः त्यो रंगमञ्चमा उक्लिइरहेको देखिन्छ । फेरि यता विशाल चीनलाई तिब्बत, हङकङ, ताइवान, सिन्जीयाङ सवाल र समस्याहरु उठाएर निरन्तर दुःख, हैरान र संकटहरु सिर्जाउने, ब्यूताँउने र अफ्ठेरोमा पार्ने अभियानमा पश्चिमाहरु निरन्तर लाग्दै आएका छन् । चीनको पतनलाई पश्चिमाहरु आफ्नो उपनिवेसवादी प्रवृत्तिको दिर्घायूको सपना देखिरहेछन् । जुन उनीहरुको कालो इतिहासको निरन्तरता हो ।
अन्धकार इतिहासको पृष्ठभूमी भएका पश्चिमा शक्ति र स्रोतहरुका पतन बारे यो युगका स्टालिनवादीहरुका अवधारणा के छन् ? भन्ने सम्बन्धमा यर्हा चर्चा नगरौं । यहाँ चीनले बर्माबारे अवम्लम्बन गर्नुपर्ने नीतिहरुबारे केन्द्रित हुन खोजिएको छ, जुन कुरा विश्वशान्ति, पृथ्वीको संरक्षण र मानवजातिको मुक्तिसँंग सम्बन्धित छ । विश्वको कुनै पनि देशको राष्ट्रवाद सर्वोपरी हैन तर जुन प्रवृत्तिले पश्चिमाहरुलाई अझैसम्म गाँजेको छ र ती प्रायः सबै इतिहासमा बदनाम छन् । यी राष्ट्रहरुको आर्थिक, सामाजिक संरचनाहरु यस्ता जब्वर छन् कि तिनीहरु विश्वभरी शोषण, दमन, युद्ध र अशान्तको मार्गमा निरन्तर लागिरहन्छन् । किनकि यसैमा तिनको हित छ । यस कारणले कि लडाइँ हुदाँ दुवै पक्षलाई हतियार, बमगोलाहरु चाहिन्छ ।
जुन ध्वंसात्मक वस्तुहरुका मूल उत्पादक तिनै पश्चिमा राष्ट्रहरु हुन् । अनि उनीहरुको कच्चा पदार्थहरु, बहुमूल्य वस्तुहरु र बजार कब्जा गर्नु अर्को स्वार्थ पनि छ । १७ लाख भन्दा बेसी बर्मीज जनता सन् १९४७ देखि नब्बेको दशकसम्म पश्चिमाहरुका आडभरोसा, सहयोग र समर्थनबाट त्यहाँको सैनिक तानाशाहहरुबाट निर्मम रुपले मारिँदा ती ‘मानव’ भएनन् तर आज आङ साङ सुकी र उनका अनुयायीहरु सबै पश्चिमाहरुका नजरमा ‘मानव’ ठहरिए र त तिनीहरुको रिहाई र ‘निर्वाचित सरकारको पुनर्वहाली’ को लागि उनीहरु आवाज घन्काइरहेछन्, विरोध प्रर्दशन गरिरहेछन् । हामी सबै खालका सैनिक तानाशाहहरु विरुद्धमा छौं । जसले विगत र वर्तमानमा बर्मीज जनताको पसिना, रगत र आँसु पिएर तिनै जनताको हत्या, अपहरण, बेपत्ता, यातना र यन्त्रणा दिई बर्मालाई अझैसम्म अन्धकारमा राखिरहेछन्, र दमनचक्र चलाइरहेछन् ।
यहाँ हामी चीनले बर्मासँग गर्नुपर्ने व्यवहारहरु बारेमा चर्चा गर्नेछौं । किनकी चीनकै आड भरोसामा बर्मीज सेनाले तानाशाही शासन सञ्चालन गरिरहेछन् ।
प्रथम :
चीनले बर्मालाई हेर्ने र त्योसँग गर्ने व्यवहार भनेको संसारभरीका राष्ट्रहरुसँग गर्ने व्यवहार हो । तसर्थ यो सैद्धान्तिक सवाल हो । यहाँ प्रसंगवस अरु राष्ट्रका उदाहरणहरु पनि आउन सक्छन्, जसरी माथि एक ठाउँमा नेपालको आयो ।
केहि वर्षअघि चीनको तिब्बत र भुटानको सिमानामा पर्ने दोक्लाम घटना चर्कीएर चीन र भारतको बिचमा युद्ध नै हुनसक्ने अवस्था सिर्जियो । भाग्यवस त्यसले युद्धको रुप लिएन । दुवै राष्ट्रका नेतृत्वहरु संयम् भएर सेनाहरु सिमानाबाट फर्काइए । त्यो युद्ध हुनसक्ने घटना भनेको ठूलो जोखिमपूर्ण थियो ।
५० वर्षअघि भारतमा नक्सलवादी आन्दोलन र विद्रोह फैलँदा त्यसलाई चीनले आवश्यक नैतिक, भौतिक, सैनिक, आर्थिक सम्पूर्ण रुपले सहयोग र साथ दिएको भए त्यसबेला भारत मुक्त पनि हुन सक्थ्यो । कथम्कदाचित मुक्ति नमिले पनि त्यो क्रान्तिको ज्योतिले त्यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक अवस्थामा ठूलो परिवर्तन त निश्चित ल्याउँथ्यो । वर्तमान भारतको घोर रुढीबुढी, अन्धविश्वासी हिन्दु धर्मवादी सत्ता त कदापी वर्तमान अवस्थामा आइपुग्थेन होला । पश्चिमाहरुका सहयोग र समर्थनमा भारतले सिमाना जोडिएका चीन, नेपाल लगायत सबै देशहरुलाई दुःख र पिडा दिइरहेछन् । भारतको यो प्रवृत्ति अझ बढ्दै जाने प्रवल संम्भावना छ । तसर्थ विगतमा भारतमा एक महान अवसर सिर्जना हुदाँ चिनियाँ नेतृत्व चुकेको हो, अवसर फेरि आउन सक्छ, तर अब चाहीँ चीन कहीँपनि चुक्न हुन्न ।
एउटा ऐतिहासिक घडीमा जोसेफ स्टालिनले चीन र चिनियाँ जनताको मुक्ति र स्वाधिनताको लागि सही नीति र आत्मीय व्यवहार प्रदर्शन गरेपछि त्यसको परिणाम सन् १९४९ मा मिल्यो । हुन त चीनको भूमी क्रान्तिताका (सन् १९२७(३७) लिलिसान प्रवृत्ति जन्मनुमा स्टालिन दोषी थिए भनिन्छ तर पछि उहाँले आफ्नो नीति फेर्नु भयो । चीन र चिनियाँ जनताको मुक्ति र स्वाधीनतालाई उहाँले प्राथमिकतामा राख्नु भयो । मूल कुरा नियत हो ।
उहाँले चीन मात्र हैन मंगोलिया, पूर्वीयूरोपीयन राष्ट्रहरु, उत्तर कोरियाको मुक्ति र स्वाधिनता र सम्वृद्धि मात्र हैन विश्वव्यापी जनताको मुक्ति र राष्ट्रहरुको स्वाधीनतामा दिलो ज्यानले गर्नु भयो, आजीवन भरि । उहाँले नीजि सम्पत्ति र नीजि स्वार्थलाई कहिल्यै स्थान दिनु भएन । तसर्थ हाम्रो ठहर छ, मानवजातिको यो तेस्रो सहस्रताब्दीमा स्टालिनको जीवनभरका महान कार्यहरुलाई दिशानिर्देश मानेर निरन्तरता दिई मानव जातिमा शान्ति र सुव्यवस्था स्थापना गर्ने छ । अवरोध खडा गर्ने प्रवृत्ति, विचार र पथदर्शनहरु सबै विलुप्त हुनेछन् । किनकि जुन कुराले पृथ्वीको असुरक्षा र मानवजातिमा अशान्ति सिर्जाउछन् तिनको अस्तित्वको के अर्थ ?
द्धितीय :
बर्मामा नयाँ राजनैतिक माहोल सिर्जना गर्न चीनले सुक्ष्म र सक्रिय भूमिका खेल्नुपर्छ । जुन राजनैतिक शक्तिले त्यहाँको यथार्थ इतिहास र वर्तमानलाई आत्मासात् गर्दै उज्ज्वल बर्मीज जनताको भविष्य निर्माण गरोस् ! पश्चिमाहरुलाई यसबारे कुनै सरोकार छैन । तिनलाई त आफ्ना पिछलग्गुहरु मात्र चाहिन्छ, जसले त्यहाँको कच्चा पदार्थहरु र बजार आफ्नो लागि सुनिश्चित गरोस् । जनताको रगत बगोस् वा जे होस् तिनलाई कुनै सरोकार छैन । यो वास्तविकता जब संसार भरिका जनताले बुझ्नेछन् तब ती पश्चिमाहरुका सम्पूर्ण कुराहरु त्याग्नेछन् । बर्मेली जनतामा मात्र हैन विश्वव्यापी त्यो लागु हुनेछ, तिनकै राष्ट्रहरुमा पनि । चीनको कदम र लक्ष्य पश्चिमाहरुको भन्दा विलकुल भिन्न हुनपर्छ बरु स्टालिनको जस्तो उद्देश्य लिनुपर्छ ।
तृतीय :
युरोपमा भएको औद्योगिक क्रान्तिले आज विश्वव्यापी एकछत्र प्रभाव पारेको छ । सम्पूर्ण राष्ट्रहरु आँखा चिम्लेर त्यो पथमा डुक्रिरहेछन् । तर त्यसले पृथ्वीको आयु नै भारी मात्रामा छोट्याइ दिएको छ । जलमण्डल, भूमण्डल, वायुमण्डल र जीवमण्डल भरि जताततै त्यसले दुस्प्रभाव बढाइरहेको छ र यो जीवित ग्रहको अस्तित्व माथि प्रश्न चिह्न लगाइरहेछ । तथापी हरेक व्यक्ति, हरेक परिवार र हरेक राष्ट्र र राज्यहरु धन सम्पत्ति आर्जन गर्न, बढाउन मरिमेटिरहेछन् । यस पछाडीको मूलकारक मानव समाजको नीजि सम्पत्तिमा आधारित आर्थिक संरचना र सामाजिक स्वरुप एकनिष्ठ पारिवारिक संरचना नै हो । यसलाई कुनै पनि मूल्य चुकाएर फेर्नुपर्छ । शान्ति र सुव्यवस्थाको लागि उत्पादनका साधनहरु क्रमशः, सामुहिकीकरण, राष्ट्रियकरण र अन्तराष्ट्रियकरण नै हो । एकनिष्ठ विवाह पद्धतीको विकल्प आधुनिक, सामूहिक विवाह पद्धती हुने प्रवल संम्भावना छ ।
चतुर्थ :
सन् २०१९ को अगस्त महिनामा नेपालको काठमाडां स्थित प्रज्ञाप्रतिष्ठान भवनमा यहाँको तिनवटा संस्था (माक्र्सीय गूरुकुल ………)ले पूर्वीय दर्शन र पश्चिमा दर्शन बीचको सम्बन्धबारे एक अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना गरेको थिए । जुन कार्यक्रममा चिनीयाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिले पनि भाग लिएको थिए । ती विद्धानले कुनै लिखित कार्यपत्र प्रस्तुत नगरी एक शिक्षकले विद्यार्थीहरुलाई कक्षामा पढाए झैं स्लाईड प्रदर्शन गर्दै चिनियाँ भाषामा विभिन्न बुदाँहरुमा व्याख्या गरेको थिए ।
कुमार खड्का चाहीँ नेपालीमा अनुवाद गर्थे । चीकपाका ती प्रतिनिधिले एक प्रसंगमा भने ‘कन्फुसियस भनेको विगत २५ सय वर्ष अघिदेखिको दार्शनिक हुन्, माओत्सेतुङ भनेको भर्खरको एक नेता मात्र हो……..’ उनले स्टालिनको नाम पनि कतै लिएनन् । जबकी स्टालिन र माओत्सेतुङ भनेको आधुनिक चीनको मूल निर्माता र नेतृत्वहरु हुन् । बरु कन्फुसियस, ताओ, गौतम बुद्धहरु र तिनका दर्शन भनेका चिनियाँ परिश्रमी जनता र महिला वर्गलाई युगौंयुग अघिदेखि अन्धकारमा राख्न भूमिका खेल्ने विचारधारात्मक पथ प्रदर्शकहरु हुन् ।
चीनले विश्वव्यापी १ हजार कन्फुसियस विद्यालयहरु स्थापना गरी उनका १० हजार सिद्धान्तहरु प्रचारप्रसार गर्ने उद्देश्य लिएर अगाडी बढिरहेको छ । झण्डै दुई वर्षअघि चीनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जीन पिङ नेपालको भ्रमणमा आउँदा नेपाल सरकारसँग विभिन्न विकास निर्माणबारे सम्झौताको साथमा एउटा बुँदा ‘कन्फुसियस विद्यालय’ स्थापना गर्ने पनि थियो ।
हामी यहाँ यत्तिनै भन्न उपयुक्र्त मान्छौं कि चीन र विश्वको उज्ज्वल भविष्य अनि शान्ति र सुव्यवस्था सम्बन्धित छ, चिनियाँ जनता र विश्वभरीकै जनताको पसिना, रगत र आँशु पनि सम्बन्धित छ । झण्डै २१ सय वर्षअघिको रोमको स्पार्टकस र चीनको पश्चिम तिब्बतको १ सय वर्ष अघिको होल्र्यामोको महान विद्रोह पनि सम्बन्धित छ । चिनियाँ र विश्वभरीका आमावर्ग (महिला वर्ग) मजदुर र किसान वर्गहरु, सम्पूर्ण परिश्रमी वर्ग र न्यायप्रेमी सम्पूर्ण जनता आत्मैदेखि आफ्नो परिवारको, राष्ट्रको र विश्वको समानता, स्वतन्तत्रा, भातृत्वता, शान्ति र सुव्यवस्था चाहन्छन् ।
यसको लागि स्थानीयदेखि केन्द्रिय र विश्वस्तरीय नेतृत्वहरुले त्यस अनुरुप सही कार्यदिशा तय गर्नुपर्छ । अन्यथा भएमा, भनौं दायाँ बायाँ भएमा विद्रोह निश्चित छ । यो कति लम्बिन्छ भविष्यले बताउने छ । एउटा कुरा चाहीँ निश्चित छ, स्पार्टकस, होल्र्यामो, छीन ह्वा जस्ता सपुतहरु र तिनलाई हृदयमा सजाउनेहरु आकाशमा र धर्तीभरी प्रकाशपुञ्ज झैं बनिरहने छन्, अरु चाहीँ विलुप्त हुनेछन् । यद्यपी तिनले हजारौं सिद्धान्तहरु किन प्रतिपादन नगरुन्, हजारौं पुस्तकहरु किन नछापुन् र लाखौं प्रवचनहरु किन नदिउन् । अन्तमा बर्मीज जनताको स्वतन्त्रता र स्वाधीनतापूर्णको आन्दोलनमा हाम्रो पूर्ण समर्थन र ऐक्यबद्धता छ ।
२८ मई २०२१,
प्रेमनगर, बन्दिपुर गा.पा. ३, तनहूँ ।