नयाँदिल्ली । वास्तवमा भगवान मान्छेले बनाएको थियो भन्ने कुरा धेरैचोटी पुष्टि भएको छ, यसपटक पनि पुष्टि भएको छ । कुनैपनि भवितव्यबाट बच्ने र बचाउने अपेक्षासहित कुनै वस्तुको वा शक्तिको पूजाअर्चना गरिन्छ भने त्यही हो भगवानको पूजा ।
कोरोना महामारीले तबाह मच्चाइरहेका बखतमा पनि कोरोना रोगलाई शक्ति ठानेर त्यसको पूजा गर्न लागिएको छ । भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको हो । कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ ।
भारतमा कोरोना भाइरसका कारण बिहीबारसम्म ३ लाख १५ हजारको ज्यान गइसकेको छ भने २ करोड ७३ लाख संक्रमित बनेका छन् । तामिलनाडुको कोयम्बटोरमा रहेको कामतचिपुरी अधिनाम मन्दिर महामारीका कारण बन्द गरिएको छ तर, सो मन्दिरका पुजारीले एउटा चन्दनको काठबाट र अर्को ढुंगाबाट बनाइएका ‘कोरोना देवी’ का मूर्तिलाई पूजा गरिरहेका छन् ।
उनीहरुले विभिन्न मन्त्र उच्चारणसहित ती मूर्तिमा दैनिक प्रसाद चढाउने र मूर्तिलाई बेसार पानी र दूधले नुहाइदिने पनि गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।