काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका ३० वटा रिटमध्ये आज १९ वटा रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश भएको छ ।
११ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाइको माग भएअनुसार शुक्रबार शुरु हुनेछ । बिहीबार प्रधानन्यायाधीशको इजलासमा भएको सुनुवाइपछि १९ वटा रिटलाई पनि शुक्रबार बस्ने संवैधानिक इजलासमा पठाएर सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
आजको सुनुवाइका क्रममा रिट निवेदकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(४) अनुसार विश्वासको मत नलिई उपधारा ५ अनुसारको प्रधानमन्त्रीको हैसियतमा संसद विघटनको सिफारिस गर्ने अधिकार नरहेको दाबी गरेका थिए ।
सुनुवाइका क्रममा झण्डै दुईघण्टा भएको बहसपछि प्रधानन्यायाधीश राणाले गम्भीर संवैधानिक व्याख्या आवश्यक रहेकाले संवैधानिक इजलासमा पठाउने आदेश गरे । जसअनुसार शुक्रबार गठन हुने संवैधानिक इजलासमा आज पठाइएका १९ सहित ३० वटा रिटमाथि सुनुवाइ शुरु हुनेछ ।