काठमाडौं । अनलाइन टिभी पत्रकार संघले पत्रकारिताको मर्मविपरित युट्युबमा प्रसारण गर्नेहरुलाई तत्काल कारवाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेको छ ।
संघको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उक्त माध्यममा विकृति गर्नेहरुलाई कारवाही गर्न माग गरेका हुन् ।
युट्युबलगायतका विभिन्न माध्यमबाट भिडियो सामग्री सम्प्रेषण गर्ने क्रममा अधिकांशले पत्रकारिताको मर्मविपरीत गरेकाले गलत गर्नेलाई कारवाही गर्न र राम्रो गर्नेलाई संरक्षण गर्न पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ । अनलाइन टिभीका क्षेत्रमा यसअघि पनि विकृति हुँदै आएकामा पछिल्ला दिनमा ‘प्र्याङ्क’का नाममा थप विकृति देखिन थालेको भन्दै सङ्घले काउन्सिलको ध्यानाकर्षण गराएको हो ।
केही युट्युब च्यानलबाट अति उच्शृङ्खल, अशिष्ट, अपाच्य र सञ्चारमाध्यमको सामान्य सिद्धान्तविपरीतका सामग्री प्रसारण भइरहेको संघले जनाएको छ ।
संघको ज्ञापनपत्र बुझेपछि काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकीले युट्युबमा भइरहेको विकृतिले सीमा नाघेको भन्दै कारवाही प्रक्रिया अब तीव्र पारिने प्रतिबद्धता जनाए ।