काठमाडौं । सरकारमा जाने निश्चित भएपछि जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन् । ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए ।
पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण सरकारमा जाने लोभलाई मानिएको छ । यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन् । ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ ।
गत वैशाखमा ठाकुर–महतो पक्षले भक्तपुरको डोेलेश्वरमा गरेको बैठकमा जसपाका २० जना सांसद उपस्थित भएको दाबी गरेका थिए । त्यस बैठकमा उपेन्द्र यादव पक्षका कुनकुन सांसद सहभागी थिए भन्ने खुलेको थिएन । स्रोत भन्छ, ‘डोलेश्वर बैठकमा यादव पक्षका श्रीवास्तव र अरगरिया खुलेर आएका थिए । अरू ३ सांसदले आउने आश्वासन दिएका थिए तर त्यस बेला नाम खुलाउन चाहेका थिएनन्। अहिले खुलेरै कित्ता परिवर्तन गरेका छन् ।’
यादव पक्षका ५ सांसदले कित्ता परिवर्तन गरेपछि महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णयमा जसपाका २० सांसदको हस्ताक्षर रहेको स्रोतको भनाइ छ । संसदीय दलमा ठाकुर–महतो पक्ष बहुमतमा रहे पनि कार्यकारिणी समितिमा आफूहरू बहुमतमा रहेको यादव पक्षका नेताहरूको दाबी छ । जेठ ८ र ९ गतेको कार्यकारिणी समिति बैठकमा बहुमत सदस्य उपस्थित रहेको यादव पक्षले जनाएको छ ।
यसैबीच, जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमा जाने निर्णय गरेको छ । जसपा स्रोतका अनुसार सरकारमा सहभागी हुन ठाकुर र महतोले प्रधानमन्त्री केपी ओलीलाई जानकारीसमेत गराएका छन् । जसपाले राखेका माग पूरा गरेको भन्दै उनीहरू सरकारमा जान लागेका हुन् । सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने तथा संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
जसपाले सरकारसँग ५ वटा माग राखेको थियो । अब सरकारले पूरा गर्न बाँकी २ माग छन् । रेशम चौधरीको रिहाइ र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकारले पूरा गरेको छैन । यी माग पनि तत्काल पूरा गर्ने आश्वासन ओलीले दिएको जसपाका नेताहरूले जनाएका छन् ।
ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले आफूहरू सरकारमा जाने सम्भावना बढेको बताए । ‘हाम्रा माग मुद्दा सम्बोधन भएमा सरकारमा जान्छौं भन्दै आएका छौं । माग मुद्दा सम्बोधन हुने क्रममा छन्’, भण्डारीले भने, ‘त्यसैले सरकारमा जाने सम्भावना बढेको छ ।’ यो समाचार नागरिक दैनिकमा छ ।