• बैशाख २० २०८३, आईतवार

राष्ट्रपति विरुद्ध प्रधानमन्त्री ओलीका कानून व्यवसायीले रिट हाले

जेष्ठ १० २०७८, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीका कानून व्यवसायीले सर्वोच्च अदालतमा रिट हालेका छन् ।

ओलीलाई धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग सहित अधिवक्ता राजाराम घिमिरेले रिट हालेका हुन् ।

राष्ट्रपतिलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदनमा राष्ट्रपतिको निर्णयलाई गैरसंसदीय,गैरसंवैधानिक र अलोकतान्त्रिक दाबी गरिएको छ । रिटमा प्रतिनिधिसभा विघटन बदर गर्न पनि माग गरिएको छ ।

अधिवक्ता घिमिरेले यसअघि पुस ५ गते भएको संसद् विघटनको मुद्दामा प्रधानमन्त्रीका तर्फबाट बहस गरेका थिए ।

आजै ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै थप दुई वटा रिट परेको बुझिएको छ ।

यता,प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दुई दर्जन बढी रिट दायर भएका छन् ।