• मंसिर १४ २०८१, शुक्रबार

संसद छलेर अध्यादेश ल्याइनु कुत्सित र दुषित मनसाय:विवेकशील साझा

जेष्ठ १० २०७८, सोमबार

काठमाडौँ /

विवेकशील साझा पार्टीले संसद छलेर अध्यादेश ल्याइनु कुत्सित र दुषित मनसाय भएको प्रतिकृया दिएको छ। सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याएको भोलिपल्ट विवेकशील साझाले आफ्नो पार्टीको धारणा सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशप्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै सो पार्टीका प्रवक्ता शरदराज पाठकले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताजस्तो अत्यन्तै गम्भीर विषयलाई संसद् छलेर अमूक दलहरूबिचको सौदाबाजीका रूपमा अध्यादेशबाट राजनीतिक रूपमा संवेदनशील समयमा ल्याइनु पूर्णतः कुत्सित र दूषित मनसायबाट प्रेरित देखिन्छ।’

गलत प्रक्रिया र गलत ध्येयबाट ल्याइएको भए पनि अध्यादेशले केही महत्त्वपूर्ण विषयलाई सकारात्मक रूपमा सम्बोधन गरेको छ भन्दै विवेकशील साझाले केही गर्नैपर्ने बिषयमा भने अध्यादेश मौन रहेको भन्दै नागरिकता सम्बन्धी पार्टीका धारणा बुँदागत रुपमा सो पार्टीले सार्वजनिक गरेको छ।

नागरिकतासम्बन्धी सो पार्टीले सार्वजनिक गरेका बुँदाहरु यस्ता छन्।

१)  जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि पाएको सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसङ्गत हुन्छ। यो नेपालको संविधान २०७२ अनुरूप पनि छ, जसको विवेकशील साझा पार्टी स्वागत गर्दछ।

२)  तर पुरुष र महिलाका बिच नागरिकताको विषयलाई विभेदकारी बनाउन मिल्दैन। पुरुष र महिला दुवै समान अधिकारको हकदार छन्। अध्यादेश त्यसमा चुकेको छ। हाल नेपाली पुरुषले विदेशी महिला विवाह गरे उनले तुरुन्तै नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरे ती पुरुषले नागरिकता लिन कठिन हुने प्रावधान विद्यमान छ। संसारका धेरै लोकतान्त्रिक र विकसित देशहरूको नागरिकता सम्बन्धी प्रावधानहरू हेर्ने हो भने कुनै पनि विदेशीले नागरिकता पाउन एउटा निश्चित अवधि सो देशमा स्थायी बसोबास गरेको र अन्य कतिपय सर्तहरू पुरा गरेको हुनुपर्छ। नेपालका लागि पनि त्यस्तै व्यवस्था गर्नु उचित हुन्छ। नागरिकता नपाउँदासम्म पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानुनी रूपमा निर्वाह गर्नुपर्ने भूमिका तथा अन्य अत्यावश्यक कार्यहरू गर्नका लागि विशेष परिचयपत्र प्रदान गर्न सकिन्छ।

३)  विवेकशील साझा पार्टी नेपालीसँग विवाह गर्ने पुरुष या महिला जो भए पनि उनीहरूले नेपाली नागरिकता पाउनु अगाडि संविधानका अन्य सर्तहरू पुरा गर्नुका साथै ७ वर्ष नेपालमा स्थायी बसोबास गरेको हुनुपर्छ भन्ने धारणा राख्दछ। यस विषयमा अध्यादेश मौन छ।

४) आमाको नाममा नागरिकता लिँदा बुवाको परिचय खुलाउनुपर्ने व्यवस्था विभेदकारी छ। बुवाको नाममा नागरिकता लिँदा बुवाले आमाको परिचय खुलाउनु नपर्ने तर आमाले भने बुवाको परिचय खुलाउनु पर्ने व्यवस्था मान्य हुन सक्दैन। दुबैका हकमा समान कानुनी व्यवस्था हुनुपर्छ। यस विषयमा पनि अध्यादेश मौन छ।

५) नागरिकता लिने व्यक्तिको लैंगिक पहिचान सुनिश्चित गरिनुपर्छ। यौनिक अल्पसङ्ख्यकको लैंगिक पहिचानका बारेमा अध्यादेश मौन छ

६) अन्त्यमा, विवेकशील साझा पार्टी नेपाली नागरिकता लिएकाहरूको अभिलेखीकरण वैज्ञानिक र प्रविधि अनुकूल बनाउन प्राथमिकताका साथ काम गरिनुपर्दछ भन्ने जोडदार माग गर्दछ। त्यसो गरेको खण्डमा नागरिकता नपाएका नेपालीहरू तथा गलत सूचनाका आधारमा नागरिकता लिएका, अदालतले नागरिकता खारेज गरेका र नक्कली नागरिकता बनाएकाहरूको सहजै पहिचान हुन सक्छ।