• मंसिर १४ २०८१, शुक्रबार

माधव नेपाल समूहका युवाले दिए आयोगमा दल दर्ताको निवेदन

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौँ /

नेकपा (एमाले) माधव नेपाल समूहका एक युवा नेताले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन्। पुर्व विद्यार्थी नेता रहेका जीवन राई अध्यक्ष रहेर दर्ताको लागि निवेदन दिएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) राखिएको छ। गत बैशाख ७ गते नै दल दर्ताको निवेदन परे पनि दर्ताहुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले गोलमिडिया न्युजलाई जानकारी दिए।

दर्ताको क्रममा रहेको सो दलको अध्यक्ष जीवन राई रहेका छन भने उपाध्यक्ष कल्पना गुरुङ, महासचिव बिनोद कुमार खुलाल, सचिव बिक्रम कुँवर र कोषाध्यक्ष सुशिला खनाल रहेका छन्। २५ सदस्यीय केन्द्रिय समिति पेश गरिएको सो दल दर्ताको लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम आयोगले गरिरहेको प्रवक्ता श्रेष्ठले बताए।

निवेदन दिएको ४५ दिनपछि दल दर्ताको प्रमाणपत्र लिन आयोगले आफूहरुलाई बोलाएको सो पार्टीका अध्यक्ष जीवन राईले बताए। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) र कलम चुनाव चिन्ह छानेको पनि राईले जानकारी दिए। यो पार्टी दर्तालाई माधव नेपालसँग जोडेर हेर्न नहुने उनको भनाई छ।