• मंसिर १० २०८१, सोमबार

राष्ट्रपति कार्यालयका विज्ञप्तिहरु अचानक हराए

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएपछि अनुसन्धान थालिएको छ ।

राष्ट्रपति कार्यालयको वेबसाइट मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएका हुन् ।

वेबसाइटमा शनिबार राति १ः ४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११ः३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आमो चासो बढेको छ ।

उक्त वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेको सूचना अपलोड भएको थियो । बिहीबार पनि वेबसाइटमा दुइटा सूचना अपलोड भएका थिए ।

यी सबै सूचनाहरू अहिले हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए ।

‘जेठमा राखेका सबै सूचना हराएका छन् । हामीले वेबसाइट डेभ्लपर्सलाई नै हेर्न भनेका छौं,’ उनले भने,‘जानीजानी हटाएको होइन ।’