नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टीले पहिलेदेखि भन्दै आएको कुरा अहिले त्यही बिन्दुमा पुगेको बताए ।
उनले भने–‘अहिले पार्टीहरूको जुन अराजकता भयो, एमाले पनि त्यस्तै, जनता समाजवादी पार्टी पनि त्यस्तै । पार्टीहरूमा जुन भद्रगोल थियो । यसरी भद्रगोल गरेर बस्नुभन्दा जनताको मत माग्नु नै उपयुक्त थियो, त्यसकारण पहिलेदेखि नै हामीले यो कुरा भन्दै आएका थियौँ । हाम्रो पार्टीलाई यो स्वभाविक लागेको छ ।’
उनले अहिले भइरहेको पार्टीहरूको अराजकता धेरै समय राख्न नहुने भन्दै चुनाव नै अहिलेको आवश्यकता भएकोमा जोड दिए ।
उनले भने–‘पार्टीहरुको अराजकतालाई ठेगान लगाउने तरिका यै हो । किनभने उनीहरुको म्युजिकल चेयर अनुसारले सरकारमा जाने योजना थियो । त्यसले त देश अघि बढ्दैनथ्यो । एक वर्षदेखि त्यो गडबड भइरहेको थियो । त्यसले गर्दापनि कोरोना जसरी नियन्त्रण गर्नुपर्ने थियो त्यसरी भएन । पहिले यति धेरै मान्छे मरेका थिएनन् । त्यसकारण अहिलेको घटना पार्टीहरुको अराजकताका कारण भएको हो ।’
अध्यक्ष बिजुक्छेले सरकारले घोषित मितिमै चुनाव गराउनुपर्ने बताउँदै त्यो प्रधानमन्त्री ओलीको जिम्मेवारी रहेको उल्लेख गरे । भनेको समयमा पनि चुनाव भएन भने विरोध हुने उनको भनाई छ ।