• बैशाख १३ २०८३, आईतवार

नेपालमा पनि चक्रपातको असर, सावधान रहन आग्रह

जेष्ठ ३ २०७८, सोमबार

काठमाडौँ /

पुर्व मध्ये अरब सागरमा रहेको अतिशक्तिशाली चक्रपात विकसित हुने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ‘ताउ तेइ’ नाम गरेको सो चक्रपात विकसित भएर उत्तर पश्चिमतिर बढ्ने क्रममा रहेको छ। पुरै नेपालमा उक्त चक्रपातको प्रत्यक्ष प्रभाव नपरेतापनि केही भागमा भने यसले असर गर्ने विभागले जनाएको छ।

सोही चक्रपातका कारण मंगलबारदेखि देशका धेरै स्थानहरुमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ। बुधबार बेलुकाबाट शुक्रबारसम्म आकासमा बादल लागेर कर्णाली प्रदेश, सुदुरपस्चिम प्रदेश ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा हल्का देखि मध्यम वर्षा र थोरै ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै सोही चक्रपातका कारण प्रदेश १ ,प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमाहरुमा पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ। यो सिजनमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना रहेकोले सबैले सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम सम्बन्धी जानकारी
जल तथा मौसम विज्ञान विभागको मौसम सम्बन्धी जानकारी

यो अवधीमा उच्च हिमाली भू-भागमा यात्रा नगर्न र पर्वतारोहण पनि नगर्न तथा नगराउन पनि जल तथा मौसम विज्ञान विज्ञान विभागले अनुरोध गरेको छ। यही चक्रपातको असरले राजधानी काठमाडौँको आकासमा समेत बादल लागेको छ भने यसको प्रभाव क्रमसः मध्य र पूर्वतिर सर्दै जानेछ देखिन्छ। यो नेपालको प्रि-मनसुनको अवधी पनि भएकोले विकसित चक्रपातले क्षती पुर्याउने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले मंगलबार देखि शुक्रबारसम्म हिमाल नचढन पनि भनेको छ।

सो चक्रपातका कारण दक्षिणी छिमेकी मुलुक भारतमा गुजरात, कर्नाटक, तमिलनाडु, केरला र महाराष्ट्र लगायतका क्षेत्रमा जनजीवन प्रभावित बनाएको छ। भारतका संचार माध्यमहरुले मंगलबारसम्म चक्रपातका कारण १२ जनाले ज्यान गुमाएको बताएका छन्। भारतका चक्रपात प्रभावित ती ठाउँहरुमा कोरोना विरुद्धको खोप अभियान रोकिएको बताइएको छ, भने धेरैलाई सुरक्षित स्थानतिर सारिएका समाचार छन्।