काठमाडौं । एमाले नेता वामदेव गौतमले मदन–आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु भएको बताएका छन् । २८औं मदन–आश्रितको स्मृति दिवसको अवसरमा उनले मदन–आश्रितको बाटोमा सहकार्यको दिशामा अग्रसर हुनु पनि भएको बताए ।
तर अहिले उनीहरुको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको गौतमको टिप्पणी छ । उनले भने, ‘क मदन र क आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ ।’
गौतमले वृहत् वाम एकतामार्फत मदन भण्डारी र जीवराज आश्रितको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भन्ने कामना पनि गरे । ‘म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा एमाले सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु, उनले लेखेका छन् ।
यसका निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार नेताहरु मुक्त हुन उनको आग्रह छ । गौतमले मदन–आश्रित बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प समेत गरेका छन् ।