• मंसिर १२ २०८१, बुधबार

पूँजीपतिले चलाएका व्यवस्था जनताको उपचार गर्न असफल भइसके : केन्द्र

बैशाख २५ २०७८, शनिबार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कोरोना भाइरसले जनता आक्रान्त हुँदापनि यसको रोकथाम तथा जनताको उपचारमा सरकार उदासिन हुनु गलत भएको बताएको छ । केन्द्रले राज्यले नै जनताको स्वास्थ्य उपचारको जिम्मा लिनुपर्नेमा सरकार तथा संसदमा रहेका पार्टीहरु सरकार बनाउने खेलमा लागि कोरोना उपचारमा वेवास्ता गर्नुले राज्य जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार रहेको पुष्टि भएको पनि बताएको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीद्वारा आज जारी विज्ञप्तिमा यस्तो जनाइएको छ ।

केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कोरोना भाइरस रोकथाम गर्ने कार्यमा साम्राज्यवादमा गिरिसकेका पूँजीवादी संसदीय व्यवस्थाहरु संसारमै पूर्णरूपमा असफलसिद्ध भइसकेका छन् । यी व्यवस्था असफल हुनुको मुख्य कारणमा ती व्यवस्थाहरु जनताप्रति अनुत्तरदायी हुनु, कोरोना भाइरस नियन्त्रण र रोकथाममा उनीहरु लापरबाही र उदासीन हुनु, कोरोना कहरलाई निहुँ बनाएर भ्रष्टाचार, कमिसन, व्यापार युद्ध लचाएर राष्ट्रको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउनु र जनताका बीचमा डर, त्रास र आतंक तथा भयावह मच्चाएर कोरोनालाई पैसा कमाउने साधन बनाउनु रहेका छन् । त्यसकारण कारण पुँजीवादी संसदीय व्यवस्थाहरु कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्ने कार्यमा पूर्णरूपमा असफल हुँदै गइरहेका छन् भन्ने निश्कर्षमा पुग्न सकिन्छ ।’

नेपालमा पनि हालको संसदीय व्यवस्था र सरकार कोरोनाको कारण देखाएर भ्रष्टाचार गर्ने, कमिसनमा डुब्ने, स्वास्थ्य सामग्री खरिदगर्ने नाममा घोटाला गर्ने तथा आफ्ना निजि कम्पनीहरुलाई स्वास्थ्य सामग्री र खोपहरु विक्री गर्न अनुमति दिने लगायतका समाचारहरु सञ्चारमाध्यममा आइरहँदा आफ्नो संगठन चुप लागेर बस्न नसकेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘सडेगलेको संसदीय व्यवस्था अंगालेको साम्राज्यवाद र विस्तारवादको आडभरोसामा टिकेको नेपालको सरकार कोरोना कहरलाई पैसा कमाउने, कमिसन बटुल्ने र चरम भ्रष्टाचार गर्ने साधन बनाएको र कोरोना कहरलाई व्यापार युद्धको रुपमा प्रयोग गरेको छ । यस प्रवृत्तिका बारेमा हाम्रो संगठन घोर विरोध र भ्रत्सना गर्दछ ।’

कोरोना भाइरसको महामारीबाट जनताको जीउज्यानको सुरक्षा गर्ने विकल्प वैज्ञानिक समाजवादी व्यवस्था हुनसक्छ । यसका प्रमाणका रुपमा उत्तर कोरिया, चीन, भियतनाम, क्युवा आदि समाजवादी व्यवस्था अंगालेका देशहरुलाई लिन सकिन्छ ।

वर्गीय मुक्ति, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोगथाम, नियन्त्रण र पूर्णरूपमा निर्मूल पार्नका निम्ति साम्राज्यवादमा गिरिसकेको पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्य व्यवस्थाहरु मात्र विकल्पका रुपमा रहेको ठहर सो संगठनले गरेको छ । केन्द्रले विश्वकै मानव जनसमुदायको हित गर्ने वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि विश्वका सर्वहारा जनता तथा मजदूरहरुलाई समाजवादी क्रान्तिको बाटोमा लामबद्ध हुनपनि आग्रह गरेको छ ।