काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी नहुने भएका छन्।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध सभामुख सापकोटाले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको हुँदा सो मुद्दा किनारा नलागेकाले सहभागी नहुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।
प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति देउवा पनि बैठकमा अनुपस्थित रहनेछन् । कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा जान उपयुक्त नभएको बताए ।
२६ गते आइतबार बिहान ९ बजेलाई बोलाएको परिषद्को बैठकले लोक सेवा आयोग, अख्तियार दुरुपयोग आयोग लगायतका संवैधानिक आयोगहरूमा नयाँ नियुक्ति सम्बन्धी निर्णय गर्ने सम्भावना छ ।
लोक सेवा महिनौँदेखि पदाधिकारीविहीन छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत दुई पदाधिकारीको पद खाली छ ।