• मंसिर १२ २०८१, बुधबार

बढी शुल्क लिने निजी अस्पतालहरुलाई कारवाही गर्ने सरकारको चेतावनी

बैशाख २२ २०७८, बुधबार

काठमाडौं । सरकारले बढी शुल्क लिने निजी अस्पतालहरुलाई कारवाही गर्ने जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोभिड संक्रमित फैलिरहेको अवस्थामा अस्पतालले बढी शुल्क लिने गरेको गुनासो आएसंगै कारवाही गर्ने जनाएको हो ।

‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन् । महामारीको यो समयमा हामीले एक अर्कालाई सेवाभावले सहयोग गर्नुपर्नेमा अनावश्यक दु:ख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले यस किसिमको अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्नेलाई तत्काल यस्तो कार्य बन्द गर्न सचेत गराउँदै कसैले यस्ता गतिविधि जारी राखे जानकारी गराउन अनुरोध पनि गरेको छ ।

केही निजी अस्पतालले आईसीयू र बेड लगायतको शुल्क भन्दै चर्को मूल्य तोकिएको दररेट नै सार्वजनिक गरेका थिए । उनहरुले महामारीलाई लुट्ने माध्यम बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ ।